गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यलयमा आज पार्टीको जिल्ला कार्यकारिणी समितिको एक महत्त्वपूर्ण सभा सभा सम्पन्न भयो। सभामा पार्टीका जिल्लास्तरीय सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो।
सभामा सोमवार एसडीएफ पार्टीको लेबर फ्रण्टका उपाध्यक्ष एवम् प्रवक्ता अरुण लिम्बूलाई पक्राउ गरिएकोमा घोर प्रतिवाद जनाएको नाम्ची जिल्ला कार्यकारिणी समितिका अध्यक्ष रमेश किरॉंतले आज विज्ञप्तिमा बताएका छन्। सभाले लिम्बूको पक्राउलाई असंवैधानिक र गैरकानुनी ठहर गरेको बताइएको छ।
किरॉंतले विज्ञप्तिमा भने, वर्तमान सरकार अहिले हरेक क्षेत्रमा असफल भइरहेको छ। सरकारले आफ्नो कमी-कमजोरीहरूलाई ढाकछोप गर्न यसरी कानुनको दुरुपयोग गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो। ठोस कारण बिना यसरी एक साधारण नागरिक अथवा विपक्षी पार्टीको युवा नेतालाई पक्राउ गरि यातना दिनु सरकारको ठूलो अपराध हाे। उनले अरुण लिम्बूलाई बिना शर्त तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल