नाम्ची, 21 सेप्टेम्बर (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा आज चिसोपानीस्थित सीसीसीटीमा आयोजित उत्कर्ष-25 को समापन समारोहमा सहभागी बनिन्। 18 सेप्टेम्बरदेखि आरम्भ भएको कार्यक्रमको विषय 'अतुल्य सिक्किम: राज्य स्थापनाको 50 वर्ष र सीसीसीटीको 25 वर्ष' रहेको थियो।
समारोहमा राज्यस्तरीय प्रतियोगिता, ज्ञान, रचनात्मकता र अनुसन्धानलाई प्रदर्शित गर्ने शैक्षणिक र नवाचार कार्यक्रम, सांस्कृतिक कार्यक्रम आदि सम्पन्न गरिएको थियो।
सीसीसीटीले आफ्नो शैक्षणिक उत्कृष्टता, नवाचार र समाज सेवामा 25 वर्ष पूरा गरेकोमा विधानसभा उपाध्यक्ष थापाले सीसीसीटी परिवार, विद्यार्थी, संकाय, कर्मचारी र पूर्व विद्यार्थीहरूलाई हार्दिक बधाई दिइन्। उनले यस तीन दिवसीय समारोहमा विद्यार्थीहरूको जोश, उर्जा र प्रतिभा हेर्न पाउनु प्रेरणादायक रहेको बताइन्।
विद्यार्थीहरूको ध्यान आकर्षित गर्दै मुख्य अतिथि थापाले ठूलो सपना देख्न, कडा परिश्रम गर्न र नवाचारमा लागिरहन प्रोत्साहित गरिन्। उनले यहॉं प्राप्त ज्ञान र कौशलले विद्यार्थीहरूको भविष्यलाई आकार दिने मात्र होइन, तर हाम्रो राज्य र राष्ट्रको विकासमा पनि योगदान पुर्याउनु पर्छ भनी बताइन्। सीसीसीटीले उज्ज्वल मस्तिष्कहरूलाई पोषण दिइरहोस्, नवीनतालाई प्रेरित गरिरहोस् र बलियो र उज्यालो सिक्किम निर्माणमा योगदान दिइरहोस् भनी कामना पनि गरिन्।
यस अघि, सीसीसीटीका प्राचार्यले कलेज र शिक्षाको क्षेत्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर समर्थनको प्रशंसा गर्दै यसले संस्थानको विकास र सफलतामा ठूलो योगदान पुगेको बताए।
हिन्दुस्थान समाचार / बिशाल