(लीड) 71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन
71औं माघे संक्रान्ति मेला शुरू


गान्तोक, 14 जनवरी (हि.स.)। जोरथाङमा बुधवारदेखि भव्य समारोहबीच प्रतिष्ठित 71औं माघे संक्रान्ति मेला शुरू भएको छ। उद्घाटन समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश मा​थुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। माघे संक्रान्ति मेलाको शुभारम्भसॅंगै आज जोरथाङमा विभिन्न नवनिर्मित सार्वजनिक पूर्वाधारहरू उद्घाटन गरियो।

कार्यक्रमको शुरुवातमा राज्यपाल तथा मुख्यमन्त्रीले पवित्र त्रिकालेश्वर मन्दिरमा पूजा–अर्चना गरी सिक्किमवासीहरूको सुख, समृद्धि, शान्ति तथा सद्भावनाको कामना गरे।

माघे संक्रान्ति मेलाको अवसरमा सर्वसाधारणलाई सड़क सुरक्षा र सड़कको जिम्मेवार प्रयोगबारे सचेत गराउने उद्देश्यले सड़क सुरक्षा सचेतना कार्यक्रम आयोजना गरियो। यस क्रममा राज्यपालले उपस्थित सबैलाई सड़क सुरक्षा प्रतिज्ञा गराए। यसपछि मुख्यमन्त्री प्रेमसिंह तामाङसँग संयुक्त रूपमा झण्डा देखाई मोटरसाइकल र्‍यालीको शुभारम्भ गरे। यस कार्यक्रमको उद्देश्य नागरिकहरूलाई यातायात नियमहरूको कडाइका साथ पालना गर्न प्रेरित गर्नु र सबै सड़क प्रयोगकर्ताको सुरक्षाका लागि सड़क सुरक्षा संस्कृतिको विकास गर्नु रहेको थियो।

यसपछि, राज्यपाल र मुख्यमन्त्रीले आज संयुक्त रूपमा जोरथाङस्थित नव–निर्मित महकुमा प्रशासनिक केन्द्रको औपचारिक रूपमा उद्घाटन गरे। यो नयाँ भवन आधुनिक प्रशासनिक सुविधासहित निर्माण गरिएको छ, जसमा बेसमेन्ट, भुइँतला तथा बहु–तलाहरू समावेश छन्। नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक कार्यालय संरचना तथा सार्वजनिक सेवा सुविधाहरूले सुसज्जित यस केन्द्रमा प्रशासनिक कार्यालयहरू, अधिकारी कक्षहरू, सम्मेलन हल, अभिलेख कक्ष, खुल्ला कार्यालय क्षेत्र, पर्याप्त पार्किङ सुविधा तथा अन्य सहयोगी पूर्वाधारहरू रहेका छन्।

यस नयाँ प्रशासनिक केन्द्रमा अवस्थित एसडीएम कार्यालय अन्तर्गत एसडीपीओ, वाणिज्य कर विभाग, मत्स्य विभाग लगायत विभिन्न अन्य विभागीय कार्यालयहरू पनि सञ्चालनमा आउनेछन्। यसले प्रशासनिक समन्वयलाई सुदृढ बनाउँदै सर्वसाधारणको पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

यसरी नै राज्यपाल माथुरले मुख्यमन्त्री तामाङको उपस्थितिमा जोरथाङस्थित सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा नव–स्थापित डायलिसिस युनिटको औपचारिक उद्घाटन गरे। नव–उद्घाटित डायलिसिस युनिटमा सातवटा डायलिसिस बेड जडान गरिएको छ, जसमा आधुनिक डायलाइसिस मेसिनहरू उपलब्ध छन्। प्रारम्भिक रूपमा युनिट एक सिफ्टमा सञ्चालन गरिनेछ भने बिरामीको चाप र आवश्यकताका आधारमा दुई सिफ्टमा विस्तार गर्ने व्यवस्था गरिएको छ।

यस अवसरमा राज्यपालले सीएचसी जोरथाङबाट जिल्ला अस्पताल, नाम्चीका लागि एम्बुलेन्सहरू पनि झण्डा देखाएर प्रस्थान गराए। यी एम्बुलेन्सहरू एलकेम फार्मास्युटिकल्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलअन्तर्गत प्रदान गरेको हो, जसले यस क्षेत्रको आपतकालीन स्वास्थ्य सेवालाई थप सुदृढ़ बनाउने अपेक्षा गरिएको छ।

पूर्वाधारहरूको उद्घाटनका क्रममा राज्यपाल र मुख्यमन्त्रीले जोरथाङमा नव–स्थापित बहुउद्देश्यीय इन्डोर जिम्नेसियमको औपचारिक उद्घाटन गरे। नव–उद्घाटित बहुउद्देश्यीय इन्डोर जिम्नेसियम भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको ‘खेलो इन्डिया’ पहल अन्तर्गत निर्माण गरिएको हो, जसमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागको सहयोग रहेको छ।

यो आधुनिक सुविधासम्पन्न संरचनामा इन्डोर ब्याडमिन्टन कोर्टहरू, बहुउद्देश्यीय जिम्नेसियम तथा अन्य सहायक सुविधाहरू उपलब्ध छन्। यसले यस क्षेत्रका खेलकुद प्रवर्द्धन, शारीरिक तन्दुरुस्ती र युवाहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यी उद्घाटन कार्यक्रमहरूमा सिक्किम सरकारका क्याबिनेट मन्त्रीहरू, विधायकगतण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande