18 जनवरीदेखि खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट शुरू हुने
18 जनवरीदेखि शुरु हुने खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट


खरसाङ, 14 जनवरी (हि.स.)। प्रतिष्ठित खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट आगामी 18 जनवरीदेखि शुरु हुने भएको छ।‌ खरसाङ महकुमा खेलकूद संघको आयोजना र जीटीएको युवा एवं खेलकूद मामिला विभागको सहयोगमा उक्त प्रतिष्ठित खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट खरसाङको चानमारी आर्मी खेल मैदानमा खेलाइने छ।

यस खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टलाई लिएर खरसाङ महकुमा खेलकूद संघले सबै तयारी पूरा गरिसकेको छ। यसपाली शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण हो। यस पटक जम्मा 12 वटा स्थानीय र राष्ट्रिय स्तरका प्रतिष्ठित फुटबल टिमहरुले भाग लिइरहेका छन्।‌

प्रतिभागी दलहरूमा युकेएफसी, युनाइटेड दार्जिलिङ, ईस्ट बेंगाल रायगञ्ज, आर्मी रेड बेङलुरु, एके गान्तोक, लिजेन्ड एफए, सेकेन्ड इलेभेन जीआर, जर्ज सेकेन्ड कालेबुङ, केएफसी, तरुनजाबारी एफसी, सिलगढी युनाइटेड एफसी, नर्थ बेंगाल आर्म्स पुलिस सामेल छन्।‌

यस फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीको साथमा दुई लाख रुपियाँको‌ नगद राशि र उप विजेतालाई आकर्षक ट्रफीको साथमा एक लाख रुपियाँ प्रदान गरिने खरसाङ महकुमा खेलकूद संघका उपाध्यक्ष फुर्बा घिसिङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande