
खरसाङ, 02 जनवरी (हि.स.)। वाणिज्य एवं उद्योग मन्त्रालय, भारत सरकार अधीनस्थ टी बोर्ड इण्डियाद्वारा टी डेभलपमेन्ट एण्ड प्रमोसन स्किम 2025-2026 अन्तर्गत खरसाङको सिटोङ अर्ग्यानिक स्मल टी ग्रोवर्स वेलफेयर सोसाइटी, सिटोङ 1 संस्थालाई दार्जिलिङ क्षेत्रीय टी डेभलपमेन्ट अधिकारी फुरी शेर्पाले चिया कृषिमा प्रयोग गरिने आवश्यक उपकरण अनि सामानहरू उपलब्ध गराएका छन्। यसमा टी हार्भेस्टर, प्रुर्निङ मशीन, पावर स्प्रे, ब्रस कटर, वेजिङ स्केल, प्लास्टिक क्रेट आदि उपकरणहरु रहेका छन्।
लगभग 1.5 लाख मूल्यको उपकरणहरु यस योजना अन्तर्गत सिटोङका साना चिया कृषि उत्पादक संस्थालाई उपलब्ध गराए वापत सिटोङ अर्गानिक स्मल टी ग्रोवर्स वेलफेयर सोसाइटीका सभापति विश्वास लामा अनि सचिव विकास राईले संस्थाको तर्फबाट सरकारी विभाग एवं डेभलपमेन्ट अधिकारी फुरी शेर्पालाई कृतज्ञता प्रकट गरेका छन्। चिया कृृषिमा लागिपरेका साना चिया उत्पादक कृषकहरुलाई सरकारी योजना अनुरुप सरकारी सहुलियत र सुविधाहरु निरन्तर रूपमा उपलब्ध गराउने शेर्पाले बताए।
यी सहुलियत र सुविधाहरुको लाभ प्राप्त गर्नका निम्ति कृृषकहरुले टी बोर्ड इण्डियामा आफ्नो नाम र कृषिको सरकारी पंजिकरण गराएको हुनु पर्ने बताइएको छ। चिया कृषिमा संलग्न रहेका कृषकहरुलाई सरकारी प्रक्रिया अनुरुप आधिकारिकरूपमा आफ्नो नाम र कृषिलाई टी बोर्ड इण्डियामा रेजिस्ट्रेसन गराउने थप सुझाउ पनि दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक