
खरसाङ, 22 जनवरी (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने प्रधानमन्त्री ग्राम सडक योजनाको रोड मरमत्तिको कार्य चलिरहेको छ। हालमा उक्त रोडको मरमत्ति अन्तर्गत अलकत्र बिछ्याउने कार्य शुरू भएको छ।
तीनधारेको गोलाई पाखादेखि सिविटारको बाघमारा बस्ती हुँदै तितिरी खेल मैदानसम्म लगभग 5 किलोमिटर लामो रोड मरमत्तिको कार्य चलिरहेको छ। उक्त रोडको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेको थियो र स्थानीयहरुलाई धेरै असुविधा भइरहेको थियो। स्थानीय मानिसहरुको असुविधालाई ध्यानमा राख्दै मरमत्तिको कार्य शुरू गरिएको हो।
यस क्रममा बिहिबारदेखि सुविटारको तितिरी खेल मैदान क्षेत्रदेखि अलकत्र बिछ्याउने कार्य शुरु गरिएको छ। रोडमा अलकत्र बिछ्याउने कार्य शुरु गरिएकाले स्थानीय मानिसहरुलाई गाडी नकुदाइदिने अनुरोध गरिएको छ। सिविटारबाट चल्ने गाडीहरु बिहान 9 बजीभित्र निस्कनु पर्ने साथै बेलुका आइदिन अनुरोध गरिएको छ। यद्यपि, आपतकालीन सेवाका गाडीहरुलाई भने छुट दिइने बताइएको छ।
स्थानीय मानिसहरूलाई वैकल्पिक मार्ग प्रयोग गरिदिन पनि निवेदन गरिएको छ। सिविटारसम्म आउने गाडीहरु महानदी भएर आउन सक्ने र सिविटारको शिवखोला र बाघमारा बस्ती आउन परेमा तीनधारे भएर आउन सकिने पनि जनाइएको छ।
महानदी ग्राम पञ्चायतका पञ्चायत समिति सदस्य एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका उप सभापति कुसाङ लामाले तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको मरमत्तिको कार्य चलिरहेकाले यस क्षेत्रका जनतालाई सहयोगका लागि आह्वान गरे। उनले जीटीए प्रमुख अनित थापाको निर्देशनमा मरमत्तिको कार्य शुरु गरिएको बताउॅंदै स्थानीयहरुको तर्फबाट जीटीए प्रमुखलाई धन्यवाद दिएका छन्। लामाले यस रोडको मरमत्ति कार्यको गुणवत्ता सुनिश्चित गर्नका लागि स्थानीयहरुलाई पनि निरीक्षण गर्न आह्वान गरे।
हिन्दुस्थान समाचार / हनोक