‘हेरा फेरी ३’ बारे परेश रावलको ठूलो खुलासा
Paresh rawal


बलिउडको चर्चित कमेडी फ्रेन्चाइजी ‘हेरा फेरी ३’ लामो समयदेखि आफ्नो स्टारकास्टभन्दा बढी विवादका कारण चर्चामा रहँदै आएको छ। चलचित्रलाई लिएर विभिन्न अड्कलहरू लगाइँदै आएका थिए, तर अब अभिनेता परेश रावलले यी अफवाहहरूमा पूर्णविराम लगाएका छन्। हालैको एक अन्तर्वार्तामा उनले चलचित्रको वर्तमान अवस्था र अक्षय कुमारसँगको कथित विवादबारे खुलेर कुरा गरेका छन्।

अफवाह थियो कि अक्षय कुमारले अचानक चलचित्र छाडेको विषयलाई लिएर परेश रावलमाथि २५ करोड़ रुपियाँको मानहानी मुद्दा दायर गरेका छन्। यसबारे प्रतिक्रिया दिँदै परेशले हास्यपूर्ण शैलीमा भने, “त्यो सबै ‘कछुआ छाप अगरबत्ती’ हो,” अर्थात् निराधार र बेकारका कुरा। उनले स्पष्ट पारे, चलचित्र १०० प्रतिशत बनिरहेको छ र अक्षय कुमारसँग उनको कुनै पनि कानुनी विवाद छैन।

परेश रावलले चलचित्र अड्किनुको कारण आफू नभएको पनि स्पष्ट गरे। उनका अनुसार, ढिलाइको कारण उनको र अक्षय कुमारबीचको कुनै झगडा होइन, बरु अक्षय कुमार र चलचित्रका निर्माताबीच रहेका केही प्राविधिक तथा कागजी विषयहरू हुन्। यी समस्या समाधान हुनासाथ चलचित्रको काम फेरि अघि बढ्नेछ। उनले आफू चलचित्रका लागि पूर्ण रूपमा तयार रहेको संकेत पनि दिए।

परेश रावलले यसअघि पनि भनिसकेका छन् कि ‘बाबु भैया’ को पात्र नै ‘हेरा फेरी’ को पहिचान हो। उनका अनुसार, यदि यो पात्र चलचित्रमा भएन भने दर्शकले त्यो मजा पाउने छैनन् र चलचित्रलाई नोक्सान हुन सक्छ। फ्यानहरू पनि यही अपेक्षा गरिरहेका छन् कि ‘हेरा फेरी ३’ मा फेरि एकपटक राजु (अक्षय कुमार), श्याम (सुनील शेट्टी) र बाबुराव (परेश रावल) को आइकनिक तिकडी सँगै देख्न पाइयोस्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande