
रानी मुखर्जीको बहुप्रतीक्षित फिल्म ‘मर्दानी ३’ हलहरूमा रिलिज भइसकेको छ। बक्स अफिसमा यसलाई सनी देओलको पहिलेदेखि नै बलियो पकड बनाइसकेको फिल्म ‘बोर्डर २’ सँग कडा प्रतिस्पर्धा सामना गर्नुपरेको छ। सीमित स्क्रिन र ठूलो प्रतिस्पर्धाका बावजुद फिल्मले पहिलो दिन सन्तोषजनक सुरुवात गरेको छ। दर्शकमाझ रानीको दमदार भूमिकाप्रति उत्सुकता स्पष्ट देखिएको छ।
ट्रेड रिपोर्टअनुसार ‘मर्दानी ३’ ले ओपनिङ डेमा ३.८० करोड़ रुपियाँको कारोबार गरेको छ। रोचक कुरा के छ भने यो कमाई ‘मर्दानी २’ को पहिलो दिनको कलेक्सन बराबर हो, जबकि सन् २०१४ मा आएको पहिलो फिल्म ‘मर्दानी’ को ओपनिङ डे कलेक्सन (३.४६ करोड़) लाई यसले पछाडि पारेको छ। यससँगै यो फिल्म रानी मुखर्जीको करियरमा सबैभन्दा ठूलो ओपनिङ लिने फिल्महरूको शीर्ष सूचीमा समावेश भएको छ।
यशराज फिल्म्सको ब्यानरअन्तर्गत बनेको यस फ्रेन्चाइजको पहिचान सामाजिक मुद्दामा आधारित सशक्त कथाहरूका लागि रहेको छ। पहिलो फिल्ममा मानव तस्करी, दोस्रोमा एक खतरनाक अपराधीको मानसिकता र अब तेस्रो भागमा समाजको एउटा नयाँ तीतो सत्य उजागर गर्ने प्रयास गरिएको छ। फिल्मलाई लिएर दर्शक र समीक्षकहरूबीच चर्चा तीव्र बनेको छ।
यता अर्कोतर्फ ‘बोर्डर २’ बक्स अफिसमा निरन्तर मजबुत रूपमा टिकिरहेकी छ। आठौँ दिन पनि फिल्मले दुई अङ्कको कमाई गर्दै भारतमा २५७ करोड़ रुपियाँभन्दा बढीको आँकडा पार गरिसकेको छ। यस्तो अवस्थामा आगामी दिनहरूमा ‘मर्दानी ३’ ले यस कडा प्रतिस्पर्धामा कति लामो यात्रा तय गर्न सक्छ, हेर्नु रोचक हुनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी