इरानका २७ प्रान्तमा प्रदर्शन, सुरक्षाबलको गोलीबाट २९ जनाको मृत्यु
Iran


तेहरान (इरान), ०६ जनवरी (हि.स.)। इरानमा पछिल्ला नौ दिनदेखि निरन्तर जारी प्रदर्शनका क्रममा कम्तीमा २९ सर्वसाधारणको ज्यान गएको छ भने १,२०० भन्दा बढी मानिस पक्राउ परेका छन्। महँगीविरुद्ध शुरु भएको आन्दोलन अहिले देशका सर्वोच्च नेता अली खामेनेईविरुद्ध खुलेर विरोधमा परिणत भएको छ। आन्दोलनको असर पवित्र शहर कुमसम्म फैलिएको छ। देशका २७ प्रान्तका ८८ शहरमा कम्तीमा २५७ स्थानमा अशान्ति फैलिएको बताइएको छ।

इरान इन्टरनेशनलको रिपोर्टअनुसार अमेरिकी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी’ ले यो जानकारी दिएको हो। सोमबार जारी विवरणअनुसार पछिल्ला २४ घण्टामा सात जना प्रदर्शनकारीको मृत्यु पुष्टि भएको छ। अजना, मरवदश्त र कोरवेहमा सुरक्षाबलको गोलीबारीमा उनीहरूको ज्यान गएको हो। झडपका क्रममा सुरक्षाबलका दुई जवानसहित कुल २९ जनाको मृत्यु भएको छ। यस अवधिमा कम्तीमा ६४ जना प्रदर्शनकारी घाइते भएका छन्।

रिपोर्टअनुसार आन्दोलनको समर्थनमा विद्यार्थीहरू पनि सडकमा उत्रिएका छन्। देशका १७ वटा विश्वविद्यालयमा विरोध प्रदर्शन भएका छन्। हालसम्म कम्तीमा १,२०३ जना प्रदर्शनकारी पक्राउ परिसकेका छन्। बोजनुर्द, कज्विन, इस्फहान, तेहरान र बाबोलमा ठूलो संख्यामा पक्राउ गरिएको छ। देशभर इन्टरनेट सेवा सीमित गरिएको छ र स्वतन्त्र सूचना स्रोतहरूमाथि कडाइ गरिएको छ।

इरानको विदेश मन्त्रालयले सोमबार अमेरिका र इजरायलले इरानका आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसा भड्काएको आरोप लगाएको छ। यसैबीच, इरानको मेहर न्यूज एजेन्सीका अनुसार देशका न्यायपालिका प्रमुख गुलामहोसैन मोहसेनीले अशान्तिका बेला संयमता अपनाउन आग्रह गरेका छन्। उनले इस्लामिक व्यवस्थाले भ्रमित मानिसहरूलाई हिंसा त्याग्ने अवसर दिने बताए। शान्तिप्रिय नागरिकलाई दंगाइहरूबाट आफूलाई अलग राख्न पनि उनले आग्रह गरे। साथै, प्रदर्शनकारी र आलोचकका चिन्तालाई सुन्ने प्रतिबद्धता जनाउँदै दंगाइहरूमाथि भने कडाइका साथ कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनले अटर्नी जनरल र देशभरका अभियोजकहरूलाई दंगाइ र उनीहरूलाई समर्थन गर्नेहरूमाथि कानुनअनुसार कडाइका साथ कारबाही गर्न निर्देशन दिएको बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande