
वाशिङ्टन, ०४ मार्च (हि.स.)। पश्चिम एसियामा जारी संघर्षबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पहिलो पटक सार्वजनिक रूपमा मिडियाका प्रश्नहरूको सामना गर्दै ईरानसँगको युद्ध तथा व्यापक क्षेत्रीय अवस्थाबारे खुला रूपमा धारणा व्यक्त गरेका छन्। उनी ह्वाइट हाउसको ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग उपस्थित थिए, जहाँ दुवै नेताबीच बन्द कोठामा बैठकअघि उक्त कुराकानी भएको थियो।
ट्रम्पले इजरायलले ईरानमाथि आक्रमण गर्ने योजना बनाएको कारण आफू शनिबार सैन्य कारबाही गर्न प्रेरित भएको भन्ने कुरालाई अस्वीकार गरे। बरु उनले “सम्भवतः आफूले नै इजरायललाई कदम चाल्न बाध्य पारेको हुन सक्छ” भने। अमेरिकी सैन्य कारबाहीपछि ईरानको नौसेना, वायुसेना र रडार क्षमता “लगभग पूर्ण रूपमा निष्क्रिय” भइसकेको उनले दाबी गरे।
राष्ट्रपतिले आक्रमणअघि मध्यपूर्वमा रहेका अमेरिकी नागरिकको उद्धारका लागि कुनै पूर्वयोजना नभएको स्वीकार गरे। उनका अनुसार सैन्य अभियान यति छिटो अघि बढ्यो कि पहिलेबाट उद्धारको व्यवस्था गर्न सम्भव भएन। साथै, ईरानले जवाफी कारबाहीमा छिमेकी देशहरूलाई निशाना बनाउने कुरा अप्रत्याशित रहेको उनले बताए।
ट्रम्पले ब्रिटेनको आलोचना गर्दै उसलाई “धेरै, धेरै असहयोगी” बताए। साथै, चागोस द्वीपसमूहको सार्वभौमिकता त्याग्ने निर्णयप्रति असहमति दोहोर्याए। रक्षा उत्पादन तीव्र पार्न आपतकालीन प्रावधानअन्तर्गत काम भइरहेको संकेत पनि उनले दिए।
आफ्नो वक्तव्यमा ट्रम्पले १९७९ को इरान बन्धक संकट र १९८३ मा बेरुतस्थित अमेरिकी मरीन ब्यारेकमा भएको आक्रमणजस्ता घटनाहरू उल्लेख गर्दै ईरानविरुद्धको कारबाही उचित भएको दाबी गरे। उनले ईरान दशकौँदेखि “आतङ्कलाई प्रोत्साहन गर्ने” देश रहेको र “कुनै न कुनैले यस्तो कदम चाल्नै पर्ने अवस्था आएको” बताए।
ट्रम्पले हाल ईरानमा विरोध प्रदर्शन देख्न नचाहेको पनि बताए, किनकि “त्यहाँको अवस्था अत्यन्तै खतरनाक र निरन्तर बमबारी भइरहेको छ।” उनले चेताउनी दिँदै भने, ईरानका लागि सबैभन्दा खराब अवस्था त्यतिबेला हुनेछ जब “अघिल्लो नेतृत्वजस्तै अर्को व्यक्ति सत्तामा आउने छ।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी