
काठमाण्डू, ०४ मार्च (हि.स.)। प्रतिनिधि सभा चुनाउलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन देशभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। बुधबारदेखि नेपाली सेनाद्वारा हवाई पेट्रोलिङ पनि शुरु गरिएको छ।
नेपालमा ५ मार्चमा आम चुनाउका लागि मतदान हुँदैछ। यसका लागि देशभर आठ वटा केन्द्र स्थापना गरिएका छन् र प्रत्येक केन्द्रमा सेनाको तर्फबाट हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। नेपाली सेनाको हवाई विभागले निर्वाचन लक्षित विशेष सुरक्षा रणनीति लागू गरिएको जानकारी दिएको छ।
नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजा राम बस्नेतले देशभर शान्ति र सुरक्षा कायम राख्न आजदेखि हवाई गस्ती सञ्चालन गरिएको बताएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा निगरानी बढाइएको उनले बताए।
सैन्य प्रवक्ताका अनुसार, मतदान केन्द्र र वरपरका क्षेत्रमा ‘माइन प्रोटेक्टेड भेहिकल’, अन्य सवारी साधन, मोटरसाइकल तथा पैदल गस्तीमार्फत सुरक्षा उपस्थिति सुदृढ़ बनाइएको छ। अति संवेदनशील क्षेत्रमा बख्तरबन्द सवारी साधन पनि तैनाथ गरिएको छ।
प्रवक्ता बस्नेतले देशभर भयमुक्त वातावरण सिर्जना गर्न नेपाली सेना, नेपाल पुलिस र सशस्त्र पुलिस बलले एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत संयुक्त रूपमा सुरक्षा पेट्रोलिङ र निगरानी गरिरहेको जानकारी दिए।
सेनाका अनुसार, कुनै अप्रिय घटना भएमा सम्बन्धित क्षेत्रमा शीघ्र पुग्न सातै प्रदेशमा एक-एक वटा हेलिकोप्टर तैनाथ गरिएको छ, ताकि आवश्यक परेमा राहत तथा उद्धार कार्य तुरुन्तै गर्न सकियोस्।
यस अतिरिक्त, काठमाण्डूस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको नेपाली सेनाको हवाई सुरक्षा महानिर्देशनालयमा अन्य हेलिकोप्टर र स्काई ट्रक स्ट्यान्डबाइमा राखिएको छ। सैन्य प्रवक्ताका अनुसार मतदानको दिन सबै निजी हेलिकोप्टर कम्पनीहरूलाई पनि पाइलटसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी