पुलिस भर्तीको लिखित परीक्षा उत्तीर्ण गर्ने प्रार्थीहरुलाई विशेष छुट दिनुपर्ने भागोप्रमोको माग
bgpm


खरसाङ, 06 जनवरी (हि.स.)। पश्चिम बंगाल पुलिस भर्तीको लिखित परीक्षा उत्तीर्ण गर्ने पहाडका प्रार्थीहरुलाई आगामी 8 जनवरीदेखि शारीरिक परीक्षामा बोलाइने र उनीहरूले डोमिसाइल बुझाउने पर्ने निर्धारित छ। डोमिसाइल खण्ड विकास कार्यालय र महकुमा शासकको कार्यालयबाट प्रदान गरिन्छ। तर, हालमा एसआईआरको कारणले डोमिसाइल समयमा पाउन नसक्ने स्थिति देखा परेको छ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले यस परिस्थितिलाई ध्यानमा राख्दै पश्चिम बंगाल सरकारका पुलिस महानिर्देशक (डीजीपी) लाई पत्राचार गरेर पहाडका प्रार्थीहरुका लागि समयसीमा बढाइदिन अथवा शारीरिक परीक्षा पूरा गरेर पछिबाट डोमिसाइल बुझाउन सक्ने प्रावधान गरिदिन अनुरोध गरेका छन्। खरसाङमा आज आयोजित एक पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रिय महासचिव अमर लामा, सभासद प्रमाण रसाइली, सभासद नुरी शेर्पा, युवा शक्ति खरसाङ टाउन कमिटीका कार्यवाहक अध्यक्ष बन्दन लामा लगायत अन्यहरूले उक्त जानकारी गराएका हुन्।

महासचिव लामाले भने, पुलिसको लिखित परीक्षा उत्तीर्ण गरेका‌ पहाडका प्रार्थीहरुलाई चाहिने डिमोसाइल अहिले एसआईआरको कारणले निकाल्ने सकिरहेका छैनन्। यस कारण पुलिस भर्तीको लागि चाहिने डोमिसाइल बुझाउन केही समय दिनु पर्ने अथवा पछिबाट पनि बुझाउन सकिने प्रावधान हुनुपर्ने माग गरिएको उनले बताए।

उनले भने, पश्चिम बंगाल सरकारको पुलिस भर्ती बोर्डले लिएको लिखित परीक्षामा उत्तीर्ण प्रार्थीहरुलाई आगामी 8 जनवरीदेखि शारीरिक परीक्षामा बोलाइने र पहाडका प्रार्थीहरुले डोमिसाइल प्रमाणपत्र बुझाउनु पर्नेछ। तर, वर्तमानमा‌ एसआईआर प्रक्रियाका कारण डोमिसाइल प्राप्त गर्न ढिलाई हुने भएकाले प्रार्थीहरुलाई असुविधा हुनसक्छ।‌

यस विषयलाई ध्यानमा राख्दै पार्टी अध्यक्षले राज्यका डीजीपीलाई पत्राचार गरेर डोमिसाइल प्रमाणपत्रमा बुझाउनलाई समय सीमा बढाइदिन अथवा पछिबाट बुझाउन सक्ने प्रावधान गरिदिन अनुरोध गरेको उनले जानकारी गराए। उनले यस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लागिपरेको र लिखित परीक्षा उत्तीर्ण गरेका प्रार्थीहरुलाई कुनै असुविधा भएमा पार्टीलाई सम्पर्क गर्न सक्ने उनले बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande