एसआईआर विषय लिएर भागोप्रमोद्वारा खरसाङ महकुमा शासकसित बैठक
SIR meeting


खरसाङ, 06 जनवरी (हि.स.)। पश्चिम बंगाल राज्यमा चलिरहेको मतदाता विशेष गहन पुनरीक्षण (एसआईआर) विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव अमर लामाको नेतृत्वमा एक टोलीले खरसाङ महकुमा शासकसित भेट गऱ्यो। एसआईआरमा नाम छोडिएका अथवा छोडिएका नामहरूको निम्ति सुनवाईमा उपस्थित हुन नसक्ने उम्मेदवारहरू, विशेष रूपमा विदेशमा काम गर्ने व्यक्तिहरु, शिक्षा अर्जन गर्न बाहिर गएका विद्यार्थीहरु लगायत स्वास्थ्य जाँच गराउन पहाड़देखि बाहिर रहेका जनसाधारणहरूलाई ध्यानमा राख्दै खरसाङ महकुमा शासक आईएएस प्रिया यादवसंग चर्चा गरिएको छ।

महकुमा शासकले उपचारको निम्ति बाहिर हुने साथै जेलमा हुनेहरूको निम्ति चुनाउ आयोगले एसआईआरको सुनवाईमा छुट दिइएको र अन्यहरूका निम्ति भइरहेका समस्याहरूको समाधानको निम्ति पनि जानकारीसॅंगै सम्बन्धित विभागमा पत्राचार गरेकाे जानकारी दिइन्। भागोप्रमो केन्द्रिय समितिका महासचिव लामाले एसआईआर प्रक्रियामा धेरै गुनासोहरु आइरहेकाले सम्बन्धित अधिकारीसँग समाधानका लागि खरसाङ महकुमा शासकसॅंग भेट गरेको बताए।

उनले एसआईआरमा कसैको नाम नकाटियोस् अथवा नछोडिस् भनेर पार्टीले काम गरिरहेको बताउँदै पार्टीका सम्पूर्ण नेतृत्ववर्ग, प्रतिनिधि, कार्यकर्ताहरुले आफ्नो क्षमता अनुसार समस्या समाधानका लागि सहयोग गरिदिन अपील गरे। उनको आगमनमा खरसाङ टाउन कमिटीका प्यारेन्ट बडी, नारी शक्ति अनि यूवा शक्तिका सदस्यहरुसॅंग खरसाङ महकुमा समिति कार्यालयमा परिचय आदान प्रदान गरियो।

यस सम्पूर्ण कार्यक्रममा खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइली, टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा, महकुमा नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाउ प्रभारी सबिता कार्की, टाउन कमिटी नारी शक्ति अध्यक्ष देवकी प्रधान सुब्बासंगै खरसाङ टाउन कमिटी प्यारेन्ट्स बडी, यूवा शक्तिका सम्पूर्ण नेतृत्व गण लगायत कार्यकारिणी सदस्यहरु उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande