सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप
सीएपी सिक्किमको सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप


गान्तोक, 06 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम अन्तर्गत पोकलोक कमराङ निर्वाचन क्षेत्रको एसीईसी समन्वय सभा आज नाम्ची जिल्ला कार्यकारिणी समितिका अध्यक्ष डीबी स्टिफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभाका सदस्यता अभियान, आगामी स्थापना दिवस तथा पार्टीलाई अझ मजबुत बनाउने विषयमा छलफल गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।

सभामा किसान तथा सहकारी परिषद्का अध्यक्ष एचबी राईले सालघारी क्षेत्रमा प्रस्तावित कोइला खानीबारे चर्चा गर्दै यदि कोइला खनन गरिएमा नाम्ची बजार तथा वरपरका सम्पूर्ण क्षेत्रमा गम्भीर नकारात्मक असर पर्ने बताए। उनले सरकार आम नागरिकको जीवनभन्दा आर्थिक फाइदामा मात्र केन्द्रित रहेको आरोप लगाउँदै सीएपी सिक्किम नाम्चीवासीसहित सम्पूर्ण सिक्किमवासीको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए।

आफ्नो अध्यक्षीय सम्बोधनमा डीबी स्टिफन गुरुङले वर्तमान सरकारमाथि सामन्ती, शोषक र पूँजीवादीको पक्षमा काम गरेको आरोप लगाए भने राज्यको सुरक्षा, नागरिक अधिकार तथा तानाशाही प्रवृत्तिविरुद्ध इमानदारीका साथ आम नागरिकको पक्षमा वकालत गर्ने संगठन केवल सीएपी सिक्किम रहेको दाबी गरे।

उनले संगठनलाई एकजुट बनाएर तृणमूल तहसम्म बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले राज्यको गरिमा, नागरिक अधिकार, आधारभूत सुविधा तथा समान न्यायका लागि पार्टी कुनै पनि कठिन परिस्थितिमा पछि नहट्ने विश्वास दिलाए।

सभालाई पार्टीका अन्य नेतृत्वहरूले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande