
खरसाङ, 07 जनवरी (हि.स.)। खरसाङको रोहिणी रोड खोलिएपछि राष्ट्रिय राजमार्ग 110 अहिले सुनसान बनेको छ। गत वर्ष 4 अक्टोबर राति परेको भारी वर्षाका कारण पैह्रोले रोहिणी रोड बन्द भएपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग 110 भएर कुद्न थालेका थिए। यसपछि गिद्ध पहाड, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रका दोकानहरु र होटल व्यवसायहरु राम्रो चल्न शुरू भएको थियो।
तर, लगभग तीन महिनापछि गत 1 जनवरीदेखि रोहिणी रोड खोलिनसाथ राष्ट्रिय राजमार्ग 110 मा गाडीहरुको चलाचल शून्य प्रायः बनेको छ। केही समय अघिसम्म राष्ट्रिय राजमार्ग 110 मा जाम लाग्ने स्थानहरु अहिले सुनसान बनेका छन्। खरसाङको गिद्ध पहाडस्थित रक गार्डनको भ्यु पोइन्ट, घैयाबारी, तीनधारे आदि क्षेत्रहरूमा जाम लाग्ने गर्दथ्यो भने अहिले सबै ठाउॅंहरु सुनसान बनेका छन्।
सबै गाडीहरु रोहिणी रोड भएर कुद्न थालेपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत गिद्ध पहाड, महानदी, घैयाबारी, तीनधारे, दुई नम्बर, रंगटङ क्षेत्रमा दोकानहरु र होटल व्यवसायहरु ठप्प बनेका छन्। प्रायः तीन महिनासम्म राष्ट्रिय राजमार्ग 110 भएर गाडीहरु कुदेको समय यी क्षेत्रहरूमा धेरैले नयाँ नयाँ व्यवसायहरु शुरु गरेका थिए। यस क्षेत्रका मानिसहरुले रोहिणी रोड खोलिए पनि गाडीहरु वान वे गरिदिन जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्। यस क्षेत्रका स्थानीय मानिसहरु सबैले रोहिणी रोड जीटीए प्रमुख अनित थापाको पहलमा खोलिएको र अब महानदी, घैयाबारी र तीनधारे क्षेत्रका जनसाधारणको लागि पनि केही सोचिदिन माग गरेका छन्।
रोहिणी क्षेत्रका जनसाधारणको लागि राम्रो भएकोमा खुशी व्यक्त गर्दै उनीहरूले अब राष्ट्रिय राजमार्ग 110 क्षेत्रमा पर्ने स्थानहरुका लागि पनि केही गरिदिन निवेदन स्थानीयहरुले गरेका छन्। उनीहरूले वान वे अथवा दुवैतिर गाडीहरु कुदेको खण्डमा दुवैपट्टिका जनसाधारणलाई धेरै सुविधा हुने विचार व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक