मुख्यमन्त्री तामाङ चिरबिरे नदी महोत्सवमा सहभागी, नदी संरक्षणप्रति प्रतिबद्धता दोहोर्याए
मुख्यमन्त्री तामाङ चिरबिरे नदी महोत्सवमा सहभागी


नाम्ची, ११ अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतबार चिरबिरे नदी महोत्सवको दोस्रो दिन प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै नदी संरक्षण, जलचर जैविक विविधता र दिगो पर्यावरणीय संरक्षणको महत्त्वमा जोड दिएका छन्। मुख्यमन्त्रीको सहभागिताले राज्यका नदी पारिस्थितिक प्रणालीको संरक्षणका लागि सिक्किम एङ्गलर्स एसोसिएसन (एसएए) ले गर्दै आएको प्रयासलाई थप महत्त्व दिएको छ।

कार्यक्रमस्थलमा मुख्यमन्त्रीलाई दोस्रो भारतीय रिजर्भ बटालियन (आईआरबीएन) का जवानहरूले सलामी दिए। त्यसपछि मुख्यमन्त्रीले मन्त्री, विधायक तथा अधिकारीहरूसँग मिलेर जलचर जैविक विविधता प्रवर्द्धन र स्थानीय माछाका प्रजातिको संरक्षण गर्ने उद्देश्यले रङ्गीत नदीमा चकलेट महाशीर माछा छोडे।

यसैगरी, मुख्यमन्त्रीले विभिन्न उद्यमीले स्थापना गरेका प्रदर्शनी कक्षहरूको अवलोकन गरे। उनले त्यहाँका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै प्रदर्शित वस्तु तथा सेवाबारे जानकारी लिए र स्थानीय उद्यम प्रवर्द्धनमा उनीहरूले गरेको प्रयासको सराहना गरे।

सिक्किम एङ्गलर्स एसोसिएसनले संस्थाका संस्थापक अध्यक्ष केसी प्रधान, पूर्व कार्यकारिणी सदस्य डा. डीके सुब्बा तथा विज्ञान तथा प्रविधिका पूर्व निर्देशक डा. पुष्पा तामाङलाई संस्थाप्रतिको योगदान र आबद्धताको कदर गर्दै सम्मान गर्‍यो।

यसैबीच, रिम्बी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्दै सिक्किमका पूर्व विधायकहरूको सङ्घका सदस्यहरूले रिम्बी बाढी राहत कोषका लागि २ लाख १ हजार रुपियाँको चेक हस्तान्तरण गरे।

महोत्सवमा परम्परागत नृत्य, सांगीतिक प्रस्तुति तथा कविता वाचनसमेत समावेश थिए। गान्तोकस्थित हिनोकी डोजोका प्रतिनिधिहरूले प्रस्तुत गरेको ताई ची प्रदर्शनले सांस्कृतिक कार्यक्रमलाई थप विविधता प्रदान गरेको थियो।

कार्यक्रममा मन्त्रीद्वय पुरण गुरुङ र भोजराज राई, विधायकद्वय मदन सिन्चुरी र सतीशचन्द्र राई, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ राई, प्रेस सचिव युगेन तामाङ तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande