खरसाङदेखि महानदीसम्म दुई नयाँ रेल सेवा शुरु, ‘रेड पाण्डा’ र ‘मुक्तधारा’ दैनिक सञ्चालन हुने
वाष्पचालित र मुक्तधारा डिजल ईञ्जिन


खरसाङ, ११ अक्टोबर (हि.स.)। दार्जिलिङ हिमालयन रेलवेले खरसाङदेखि महानदीसम्म दुईवटा नयाँ रेल सेवा शुरु गरेको छ। पर्यटकहरूलाई खरसाङ क्षेत्रका प्राकृतिक सुन्दरता र पर्यटकीय स्थलहरूको अवलोकन गराउने उद्देश्यले वाष्पचालित इञ्जिनसहित ‘रेड पाण्डा’ र डिजेल इञ्जिनसहित ‘मुक्तधारा’ नामका रेल सेवा सञ्चालनमा ल्याइएको हो।

नयाँ रेल सेवाको उद्घाटन खरसाङ रेलवे स्टेसनमा पूर्वोत्तर सीमावर्ती रेलवेका सहायक महाप्रबन्धक रमेश कुमारले रिबन काटेर गरे। कार्यक्रममा दार्जिलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधरी र सहायक मण्डल इञ्जिनियर रञ्जित टुडु पनि उपस्थित थिए।

रेलवेका अनुसार, बिहान वाष्पचालित इञ्जिनसहित ‘रेड पाण्डा’ र अपराह्न डिजेल इञ्जिनसहित ‘मुक्तधारा’ रेल सञ्चालन हुनेछ। यी दुवै सेवा दार्जिलिङदेखि घुमसम्म सञ्चालन हुने रेल सेवाजस्तै दैनिक रूपमा चलाइने बताइएको छ।

‘मुक्तधारा’ रेल खरसाङ रेलवे स्टेसनबाट दिउँसो ३:१५ बजी महानदीका लागि प्रस्थान गर्ने र साँझ ५ बजी खरसाङ फर्किने समयतालिका रहेको छ। रेलले खरसाङ क्षेत्रका विभिन्न पर्यटकीय स्थल हुँदै यात्रा गर्नेछ। वाष्पचालित इञ्जिनसहित सञ्चालन हुने ‘रेड पाण्डा’ सेवाले पनि खरसाङदेखि महानदीसम्मको यात्रा गराउनेछ।

भाडादरअनुसार ‘रेड पाण्डा’ मा एकजना यात्रुले खरसाङदेखि महानदीसम्म पुगेर फर्किन १,५०० रुपियाँ तिर्नुपर्नेछ। त्यसैगरी, डिजेल इञ्जिनसहितको ‘मुक्तधारा’ सेवाको भाडा प्रतिव्यक्ति १,००० रुपियाँ निर्धारण गरिएको छ।

सहायक महाप्रबन्धक रमेश कुमारले दार्जिलिङदेखि घुमसम्म सञ्चालन हुँदै आएको सेवाको नमुनामा खरसाङदेखि महानदीसम्म पनि दुईवटा दैनिक रेल सेवा शुरु गरिएको जानकारी दिए। उनले यी सेवा पर्यटकहरूका लागि छोटो दूरीको आनन्ददायी रेलयात्राका रूपमा सञ्चालन गरिएको बताए।

दार्जिलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधरीले भारतका विभिन्न भाग तथा विदेशबाट आउने पर्यटकलाई उत्तर बंगाल र खरसाङ क्षेत्रको प्राकृतिक सौन्दर्य देखाउने उद्देश्यले नयाँ सेवा शुरु गरिएको बताए। उनका अनुसार, यस पहलले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय बासिन्दाका लागि रोजगारीका अवसर सिर्जना गर्न पनि सहयोग पुर्‍याउनेछ।

यसैबीच, आइतबार ‘मुक्तधारा’ रेल सेवामार्फत खरसाङको एक निजी विद्यालयका विद्यार्थीहरूलाई आनन्ददायी रेलयात्रा गराइएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande