घैयाबारीमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको जनचर्चा अभियान सम्पन्न
बिक्रमादि राई


खरसाङ, ११ अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको जनचर्चा अभियान तीनधारे महानदी समष्टिअन्तर्गत घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। घैयाबारी युथ क्लबको आयोजनामा तथा देवंकर छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई कुसाङ तामाङले सञ्चालन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विक्रमादि राईले युवाहरूलाई जागरूक भएर अघि आउन र नयाँ नेतृत्वले जिम्मेवारी लिएर काम गर्न आह्वान गरे। उनले जनताले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को विरोधमा मतदान गरेको दाबी गर्दै जीटीए खारेज गर्ने आश्वासन दिइए पनि अहिले पुनः त्यसैलाई सञ्चालन गर्न खोजिएको आरोप लगाए।

जीटीएलाई ३६० करोड रुपियाँ दिएर पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले युवाहरू र बुद्धिजीवीहरू छुट्टै राज्यको मागमा सक्रिय हुनुपर्ने बताए। ‘डबल इञ्जिन’ सरकार हुँदाहुँदै पनि नेताहरूले वार्ताको टेबलमा आफ्नो पक्ष बलियो बनाउन नसकेको उनको भनाइ थियो।

राईले डा. महेन्द्र पी. लामाको नेतृत्वमा गोर्खाल्याण्ड एपेक्स बडीमार्फत सबै बुद्धिजीवीहरू छुट्टै राज्यको मागका लागि अघि आउनुपर्नेमा जोड दिए। साथै, एपेक्स बडीमा अझै केही राजनीतिक दलका प्रतिनिधिहरू सहभागी नभएकोमा उनले खेद व्यक्त गरे।

कार्यक्रममा उपस्थित युवाहरूले राईसमक्ष विभिन्न प्रश्नहरू राखेका थिए। उनले प्रश्नहरूको जवाफ दिँदै गोर्खाल्याण्ड नौलो संघर्ष समितिको उद्देश्य तथा आगामी कार्यक्रमबारे जानकारी गराए। यस क्रममा छुट्टै राज्यको माग र युवाहरूको भूमिकाबारे छलफलसमेत भएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande