
गान्तोक, ११ अक्टोबर (हि.स.)। जर्नलिस्ट्स युनियन अफ् सिक्किम (जेयुएस) को कार्यकारी समितिले उत्तराखण्डका पर्यटन तथा लोक निर्माण विभागका प्रभारी मन्त्री तथा मानव उत्थान सेवा समितिका प्रणेता सतपाल महाराजसँग रम्फूमा भेटघाट गर्यो। अध्यक्ष प्रवीण खालिङको नेतृत्वमा गएको जेयुएसको टोलीले सतपाल महाराजलाई हालै उनको ७५औँ जन्मोत्सव पार गरेको अवसरमा बधाई दिँदै सिक्किममा आयोजित दुईदिने सद्भावना सम्मेलनका लागि आभार व्यक्त गर्यो।
भेटघाटका क्रममा सिक्किम र उत्तराखण्डबीचको भौगोलिक समानता तथा दुवै राज्यमा पर्यटन विकासका सम्भावनाहरूबारे चर्चा गरियो। सतपाल महाराजले सिक्किममा निर्माण गरिएको चारधामले उत्तराखण्डस्थित चारधाम तीर्थस्थलहरूको दर्शन गर्न चाहने तर विभिन्न कारणले त्यहाँसम्म पुग्न असमर्थ हुने श्रद्धालुहरूलाई सहज बनाएको बताए।
यसै क्रममा उनले उत्तराखण्डमा पुराना झोलुङ्गे पुलहरूलाई पर्यटकका लागि क्याफे तथा रेस्टुरेन्टका रूपमा विकास गर्ने पहलका साथै धार्मिक सम्पदाहरूको संरक्षण र विकासमार्फत आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने नवीन अवधारणाहरूबारे जेयुएसका प्रतिनिधिहरूसँग विचार साझा गरे।
जेयुएसका अध्यक्ष खालिङले उत्तराखण्डको तीर्थाटन तथा धार्मिक पर्यटनका पहलहरू र पूर्वाधार विकासबारे अध्ययन गर्न सिक्किमका पत्रकारहरूले अध्ययन भ्रमण गर्ने रुचि राखेको बताए। यस सम्बन्धमा भविष्यमा आवश्यक पहल गर्न सकिने सम्भावना सतपाल महाराजले पनि व्यक्त गरे।
भेटघाटका क्रममा सतपाल महाराजले जेयुएसका प्रतिनिधिहरूमार्फत सिक्किमवासी तथा आफ्ना अनुयायीहरूलाई दशैँ र तिहार पर्वको शुभकामना पनि व्यक्त गरे।
भेटघाटमा जेयुएसको कार्यकारी समितिबाट अध्यक्ष प्रवीण खालिङ, उपाध्यक्ष दिलिप छेत्री, महासचिव सुरज लिम्बू, कोषाध्यक्ष अम्बर लाछिकाठी, सहसचिव सन्दीप प्रसाद र कार्यकारी सदस्य बाबु तामाङको सहभागिता रहेको जानकारी जेयुएसकी प्रचार सचिव अनुशीला शर्माले प्रेस विज्ञप्तिमा दिएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल