असहाय र संकटमा परेकाहरूलाई सहयोग गर्न संकट साथी संस्थाद्वारा ‘वनवास क्याम्प’ शुरु
असहाय र संकटमा परेकाहरूलाई सहयोग गर्न संकट साथी संस्थाद्वारा ‘वनवास क्याम्प’ शुरु


खरसाङ, ११ अक्टोबर (हि.स.)। असहाय, संकटमा परेका तथा बिरामीहरूलाई सहयोग गर्ने उद्देश्यले संकट साथी संस्थाले खरसाङ महकुमाअन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटारस्थित बाघमारा बस्तीमा ‘वनवास क्याम्प’ शुरु गरेको छ। यस क्याम्पमार्फत सङ्कलन हुने रकम संकटमा परेका व्यक्तिहरूको सहयोगमा खर्च गरिने संस्थाले जनाएको छ।

आइतबार आयोजित कार्यक्रममा संकट साथी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र तामाङले रिबन काटेर क्याम्पको उद्घाटन गरे। कार्यक्रममा प्रमुख अतिथिका रूपमा टुल्कु रिङ्देन ला उपस्थित थिए। विशिष्ट अतिथिहरूमा महानदी ग्राम पञ्चायतका उपप्रधान राजीव तामाङ, शिवखोला ग्राम पञ्चायतका उपप्रधान विक्की पाख्रिन, पर्यटन व्यवसायी राजेन प्रधान र जग्गादाता निङमा लेप्चालगायतको उपस्थिति थियो।

पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव अन्तोष तामाङले स्वागत मन्तव्य राखेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि टुल्कु रिङ्देन लामार्फत केक काटेर कार्यक्रमको खुशीयालीसमेत मनाइएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र तामाङले संकट साथी संस्थाको स्थापना र उद्देश्यबारे जानकारी गराए भने उपाध्यक्ष दिलिप सुब्बाले ‘वनवास क्याम्प’ सञ्चालन गर्नुको उद्देश्यबारे प्रकाश पारे। प्रमुख अतिथि टुल्कु रिङ्देन ला, उपप्रधान राजीव तामाङ तथा पर्यटन व्यवसायी राजेन प्रधानले पनि सम्बोधन गरेका थिए।

कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै संस्थाका अध्यक्ष राजेन्द्र तामाङले असमका बाढीपीडितहरूलाई सहयोग गरेपछि संकटमा परेका मानिसहरूलाई निरन्तर सहयोग गर्ने उद्देश्यले संकट साथी संस्था स्थापना गरिएको बताए। हाल संस्थामा १२ जना सदस्य रहेको जानकारी दिँदै उनले समस्यामा परेका, संकटग्रस्त तथा बिरामीहरूलाई सहयोग पुर्‍याउन ‘वनवास क्याम्प’ शुरू गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande