
गान्तोक, १३ अक्टोबर (हि.स.)। भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको भारतीय मसला बोर्डले १४ अक्टोबरमा पाकिमस्थित जिल्ला प्रशासन केन्द्रको तालिम कक्षमा मसलाजन्य बालीसम्बन्धी उद्यमशीलता विकास तथा सरोकारवाला अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ९ः३० बजीदेखि दिउँसो ३ बजीसम्म सञ्चालन हुनेछ।
बागवानी विभाग र पाकिम जिल्ला प्रशासनको सहकार्यमा आयोजना हुने यस कार्यक्रममार्फत स्थानीय किसान, किसान उत्पादक सङ्गठन, किसान उत्पादक कम्पनी तथा नयाँ उद्यमीलाई उत्पादनको मूल्य अभिवृद्धि, गुणस्तर, ऋण सुविधा, जैविक प्रमाणीकरण र निर्यातका अवसरबारे जानकारी प्रदान गरिनेछ।
कार्यक्रममा मसला बोर्डका विभिन्न योजना तथा सुविधाबारे जानकारी दिनुका साथै पाकिमको नाम्चेबुङमा प्रस्तावित मसला परिसरलाई जिल्लाको ‘एक जिल्ला, एक उत्पादन’ योजनाअन्तर्गतका बाली तथा उत्पादनसँग जोड्ने विषयमा पनि जानकारी दिइनेछ।
पाकिमकी जिल्लापाल तथा जिल्ला मजिस्ट्रेट परी बिष्णोई प्रमुख अतिथिका रूपमा सहभागी भई मुख्य सम्बोधन गर्नेछिन्। कार्यक्रममा बागवानी विभाग, मसला बोर्ड, भारतीय रिजर्भ ब्यांकको अग्रणी ब्यांकसम्बन्धी संयन्त्र (एसएलबीसी), तादोङस्थित भारतीय मसला अनुसन्धान संस्थानको क्षेत्रीय अनुसन्धान केन्द्रका अधिकारीहरूले विज्ञ सत्र सञ्चालन गर्नेछन्। यसका साथै एक सफल स्थानीय कृषि उद्यमीले पनि आफ्नो अनुभव साझा गर्नेछन्।
यस पहलले सिक्किममा कृषि क्षेत्रको विकास, ग्रामीण उद्यमशीलताको प्रवर्द्धन तथा किसानका उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी सञ्जाल निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल