बन्द चिया बगानका श्रमिकलाई आर्थिक सहायता दिने निर्णयको स्वागत, बगान तत्काल खोल्न माग
Sachin khati


खरसाङ, 15 अक्टोबर (हि.स.)। पश्चिम बङ्गाल राज्य सरकारले बन्द चिया बगानका श्रमिकहरूलाई ५० किलो चामल र पाँच हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्ने निर्णयको स्वागत गर्दै दार्जिलिङ जिल्ला चिया बगान श्रमिक युनियन, सीटूका प्रतिनिधि सचिन खातीले बन्द रहेका चिया बगानहरू तत्काल खोल्न सरकारसँग माग गरेका छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै खातीले राज्य सरकारसमक्ष बन्द रहेका सम्पूर्ण चिया बगानहरू तत्काल खोल्नुपर्ने मागसहित युनियनले पटक-पटक ज्ञापनपत्र बुझाउँदै आएको बताए। लामो समयदेखि चिया बगानहरू बन्द रहँदा श्रमिकहरू गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै उनले दसैँलगायत चाडपर्वका समयमा उनीहरूमाथि आर्थिक बोझ थपिएको बताए।

खातीका अनुसार, हालै उनको पार्टी तथा श्रमिक युनियनले बन्द चिया बगानका श्रमिकहरूलाई चाडपर्वका अवसरमा कम्तीमा छ हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्न माग गर्दै राज्य सरकारलाई पत्राचार गरेको थियो। यसका साथै श्रममन्त्री अर्जुन सिंहलाई पनि ज्ञापनपत्र बुझाइएको थियो।

उनले सञ्चालनमा रहेका चिया बगानका श्रमिकहरूले बोनस पाउने गरे पनि बन्द बगानका श्रमिकहरू भने बोनस तथा अन्य आर्थिक सहयोगबाट वञ्चित रहँदै आएको बताए। यही अवस्थालाई ध्यानमा राख्दै आफ्नो पार्टी तथा युनियनले सर्वप्रथम बन्द चिया बगानहरू खोल्नुपर्ने माग राखेको उनले स्पष्ट पारे।

यसका अतिरिक्त बन्द चिया बगानका श्रमिकहरूलाई दसैँको अवसरमा छ हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्नुपर्ने तथा उनीहरूलाई अन्नपूर्ण योजनासँग जोड्नुपर्ने मागसमेत सरकारसमक्ष राखिएको खातीले जानकारी दिए।

राज्य सरकारले बुधबार लिएको निर्णयलाई श्रमिकहरूको हितमा सकारात्मक कदम बताउँदै खातीले पाँच हजार रुपियाँ आर्थिक सहयोगले प्रभावित श्रमिक परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।

उनले सरकारको यस निर्णयलाई चिया बगान श्रमिकहरूको हितमा भएको उपलब्धि तथा श्रमिकहरूको जितका रूपमा लिँदै राज्य सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande