राज्यपाल स्वर्ण कप: शुक्रबार शिलङ लाजोङ र सिक्किम आक्रमण उपाधिको लागि प्रतिस्पर्धा गर्ने
राज्यपाल स्वर्ण कप: शुक्रबार शिलङ लाजोङ र सिक्किम आक्रमण उपाधिको लागि प्रतिस्पर्धा गर्ने


- प्रतिस्पर्धी दल राज्यपाल स्वर्ण कप जितेर इतिहास रच्न मैदानमा उत्रिने

गान्तोक, १५ अक्टोबर (हि.स.)। राजधानीको पाल्जोर स्टेडियममा जारी '42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप 2026' फुटबल प्रतियोगिताको फाइनल शुक्रबार सम्पन्न हुनेछ। प्रतिष्ठित राज्यपाल स्वर्ण कपको उपाधिका लागि भोलि शिलङ लाजोङ एफसी र सिक्किम आक्रमण एससीबीच भिडन्त हुनेछ। दुवै प्रतिस्पर्धी दलले उपाधि आफ्नो नाम गरेर इतिहास रच्ने विश्वास व्यक्त गरेका छन्। साथै, फुटबलप्रेमी दर्शकहरूलाई भारी संख्यामा उपस्थित भएर खेलाडीहरूलाई प्रोत्साहित गरिदिन आह्वान पनि गरेका छन्।

राजधानीको फुटबल हाउसमा आज आयोजित पत्रकार सम्मेलनमा दुई दलका प्रशिक्षक र कप्तानहरूले यस्तो आह्वान गरेका हुन्। यस अवसरमा शिलङ लाजोङ एफसीका मुख्य प्रशिक्षक वीरेन्द्र थापा र दल कप्तान केन्स्टर खार्से तथा सिक्किम आक्रमणका मुख्य प्रशिक्षक निकोलश राई र कप्तान बक्सर प्रधान उपस्थित थिए।

शिलङ लाजोङ एफसीका मुख्य प्रशिक्षक वीरेन्द्र थापाले राज्यपाल स्वर्ण कप देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता रहेको र शिलङ लाजोङ एफसीले लामो समयको अन्तरालपछि प्रतियोगितामा भाग लिइरहेको बताए। यस भन्दाअघि सेमिफाइनल चरणसम्म पुगेर बहिरिएको स्मरण गर्दै उनले यस पटक फाइनलमा प्रवेश गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे।

प्रशिक्षक थापाले आफ्नो दलसॅंग यस पटक 42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप 2026 जितेर इतिहास रच्ने सुनौलो अवसर रहेको बताए। उनले शिलङ लाजोङलाई यहॉंका फुटबलप्रेमी दर्शकबाट भरपुर समर्थन प्राप्त भइरहेकोमा खुशी व्यक्त गरे। उनले भोलि फाइनलमा पनि धेरैभन्दा धेरै संख्यामा उपस्थित भइदिएर आफ्नो मन पर्ने दललाई समर्थन गरिदिन आह्वान गरे।

यसैगरी, सिक्किम आक्रमण एससीका प्रशिक्षक निकोलश राईले प्रतिष्ठित राज्यपाल स्वर्ण कपमा धेरै पटक भाग लिएको, तर पहिलोचोटि फाइनलमा स्थान सुरक्षित गर्न पाएकोमा हर्ष व्यक्त गरे। उनले फुटबलको क्षेत्रमा राज्यपाल स्वर्ण कपको विशेष स्थान रहेको छ भन्दै आफुहरूसॅंग भोलि इतिहास रच्ने सुनौलो अवसर रहेको बताए।

एक प्रश्नको जवाफमा प्रशिक्षक राईले लिग समाप्त भएलगत्तै राज्यपाल स्वर्ण कपमा भाग लिन पाउनु आफुहरूका लागि सकारात्मक विषय बनेको बताए। उनले लिग खेलेका लगभग 80 प्रतिशत खेलाडीहरू नै यस प्रतियोगितामा पनि दलको हिस्सा रहनु राम्रो पक्ष रहेको बताए। उनले यस अवसरको फाइदा उठाउने र भोलि उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रिने बताए।

उल्लेखनीय छ, सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा गत 5 अक्टोबरदेखि शुरू भएको यस फुटबल प्रतियोगिताको भोलि समापन हुन लागेको हो। सेमिफाइनलमा शिलङ लाजोङले सिङलिङ एससीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको हो। यसरी नै सिक्किम आक्रमणले गोकुलम एफसी केरलालाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

भोलि फाइनल खेल सॉंझ पॉंच बजीदेखि शुरू हुनेछ। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande