
गुवाहाटी, 15 अक्टोबर (हि.स.)। गुवाहाटीको वशिष्ठ पुलिसद्वारा पक्राउ गरिएका दुई जना चोर पुलिस एनकाउन्टरमा घाइते भए।
पुलिसले बिहीवार बतायो, खानपारा र पञ्जाबारी रोडमा भएको पुलिस एनकाउन्टरमा दुई जना चोर घाइते भए। दुवैलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। दुई चोरले पुलिस हिरासतबाट भाग्ने प्रयास गरेका थिए।
पुलिस सूत्र अनुसार हिरासतबाट भागिरहेका चोरहरूलाई पुलिसले बारम्बार रोकिने आग्रह गरे, तर दुवैजना नरोकिएपछि पुलिस गोली चलाउन बाध्य भयो। फलस्वरूप दुवैजना घाइते भए। दुवैलाई उपचारका लागि गुवाहाटी मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ।
स्मरणीय छ, गत 5 अक्टोबरको बिहान 5ः45 बजे जनकपुर क्षेत्रमा दुवै चोरहरूले एकजना महिलाको ह्याण्डब्याग थुतेर भाग्ने प्रयास गरेका थिए। यसै क्रममा चोरहरूले महिलालाई स्कुटीबाट लगभग 20 मीटरसम्म घिसारेर लगेका थिए जसले गर्दा ती महिला गम्भीर रूपमा घाइते भएकी थिइन्।
पुलिसको एनकाउन्टरमा घाइते भएका दुवै चोरमाथि गुवाहाटीका विभिन्न क्षेत्रहरूमा यस्ता थुप्रै छिनताइका घटनाहरूमा सामेल रहेको आरोप लगाइएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ। चोरहरूबाट जफत गरिएको स्कुटी पनि चोरीको रहेको पुलिसले बताएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा