जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने


गान्तोक, 16 अक्टोबर (हि.स.)। जर्नालिस्ट्स युनियन अफ सिक्किम (जेयूएस) र नील तारा केयर्सको संयुक्त आयोजनामा हिमाली क्षेत्रमा बहु-जोखिम पूर्वचेताउनी प्रणाली तथा प्राकृतिक आपदाका बेला समयमै चेताउनीको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले ‘वन फर हिमालय’ अभियान सञ्चालन गरिने भएको छ।

आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नील तारा केयर्सकी सदस्य सरीना अबिगेल राईले यस अभियानको उद्देश्य समुदाय, नेतृत्वकर्ता तथा निर्णयकर्ताहरूलाई पूर्वचेताउनी प्रणाली र आपदा तयारीको महत्त्वबारे सचेत गराउनु रहेको बताइन्।

जेयूएसका अध्यक्ष प्रविण खालिङले यस अभियानका लागि क्षेत्रका विभिन्न स्थानका कविहरूले स्वेच्छाले आफ्ना कविता उपलब्ध गराएको जानकारी दिए। यस अभियानमा डा. राजेन्द्र भण्डारी, केवलचन्द्र लामा, प्रवीण राई जुमेली, रमिका थापा, प्रवीण खालिङ, गुरु टी. लाधाकी, सुरज गुरुङ, सरोजिनी सुब्बा, श्रवण मुकारुङ, एन.बी. घिमिरे र पल्लवीले योगदान दिएका छन्।

कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले यी कविताहरू वाचन गर्नेछन्। यसका माध्यमबाट प्राकृतिक आपदा जोखिम तथा त्यसको सामना गर्न पूर्वतयारी गर्नुपर्ने आवश्यकताबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ।

हिमाली क्षेत्रमा बारम्बार आइरहने प्राकृतिक आपदाका घटनाहरूको पृष्ठभूमिमा यो अभियान सञ्चालन गर्न लागिएको हो। नेपालमा भएका विनाशकारी बाढी तथा २०२३ अक्टोबरमा सिक्किममा आएको हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) ले हिमाली क्षेत्रका समुदायहरू प्राकृतिक आपदा दृष्टिले कति जोखिममा छन् भन्ने स्पष्ट पारेका छन्। यी घटनाले जनचेतना, आपदा पूर्वतयारी तथा पूर्वचेताउनी प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेका छन्।

‘वन फर हिमालय’ अभियान सिक्किम, दार्जिलिङ, कालेबुङ तथा पूर्वी नेपालका विभिन्न स्थानमा सञ्चालन गर्ने योजना रहेको छ। यसमार्फत हिमाली क्षेत्रका समुदायहरूका साथै क्षेत्रबाहिर पनि आपदा जोखिम न्यूनीकरणसम्बन्धी सन्देश पुर्‍याउने लक्ष्य राखिएको छ।

अध्यक्ष खालिङले सिक्किममा अभियानको पहिलो कार्यक्रम आगामी नोभेम्बर १ मा आयोजना गरिने जानकारी दिए। उनले यस अभियानमा स्वेच्छाले सहभागी भई योगदान दिन विद्यालयहरूलाई आग्रह गर्दै आपदा पूर्वतयारीलाई प्रवर्द्धन गर्न र जोखिम न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए।

आयोजकहरूले यस अभियानलाई क्षेत्रीय सीमाभन्दा बाहिर विश्वस्तरसम्म पुर्‍याउने लक्ष्य राखेका छन्। यसका लागि पत्रकार, कवि, विद्यार्थी तथा समुदायलाई एकै ठाउँमा ल्याएर आपदाका जोखिम र समयमै उचित कदम चाल्नुपर्ने आवश्यकताबारे साझा बुझाइ विकास गर्ने प्रयास गरिनेछ।

यस सहकार्यपूर्ण पहलमार्फत प्राकृतिक आपदालाई सधैँ रोक्न नसकिए पनि जनचेतना अभिवृद्धि, प्रभावकारी पूर्वतयारी र भरपर्दो पूर्वचेतावनी प्रणालीको विकासबाट यसको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सकिने सन्देश प्रवाह गरिने आयोजकहरूले बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande