उत्तर प्रदेश विधान परिषद् चुनाउ : ११ सिटमा १५२ उम्मेदवारको भाग्य मतपेटिकामा बन्द, ५५.२४ प्रतिशत मतदान
विधान भवन


लखनऊ, २३ अक्टोबर (हि.स.)। उत्तर प्रदेश विधान परिषद्का पाँच स्नातक र छ शिक्षक निर्वाचन क्षेत्र गरी कुल ११ सिटका लागि द्विवार्षिक निर्वाचनअन्तर्गत शुक्रबार मतदान सम्पन्न भएको छ। सबै सिटमा कुल ५५.२४ प्रतिशत मतदान भएको छ। मतदान बिहान ८ बजीदेखि अपराह्न ४ बजीसम्म चलेको थियो। गोरखपुर, मुजफ्फरनगर र आग्राजस्ता केही जिल्लामा अनियमितताको आरोप–प्रत्यारोपबीच शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भयो। यससँगै १५२ उम्मेदवारको भाग्य मतपेटिकामा बन्द भएको छ। निर्वाचनको परिणाम अक्टोबर २७ मा आउनेछ।

मुख्य निर्वाचन अधिकारीले बिहान ८ बजीदेखि अपराह्न ४ बजीसम्म उत्तर प्रदेशका ११ एमएलसी सिटमा ५५.२४ प्रतिशत मतदान भएको जानकारी दिए। लखनऊ खण्ड स्नातक सिटमा ३८.०२ प्रतिशत, वाराणसी खण्ड स्नातकमा ४१.०१ प्रतिशत, आग्रा खण्ड स्नातकमा ५१ प्रतिशत, मेरठ खण्ड स्नातकमा ३९.८१ प्रतिशत र इलाहाबाद–झाँसी खण्ड स्नातक सिटमा ४१.४० प्रतिशत मतदान भएको छ।उल्लेखनीय छ, राज्य निर्वाचन आयोगको निर्देशनअनुसार सम्बन्धित जिल्लाका जिल्लाधिकारी र वरिष्ठ पुलिस अधीक्षकको निगरानीमा मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा तयार गरिएको थियो, ताकि कुनै पनि प्रकारको अनियमितता हुन नपाओस्। स्नातक र शिक्षक निर्वाचन क्षेत्रको यस चुनावमा प्रदेशभरि १४ लाख ८१ हजार ३१० मतदाता रहेका छन्।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आयोगले ११ जना पर्यवेक्षक, १,०४१ जना सेक्टर मजिस्ट्रेट र ४५६ जना जोनल मजिस्ट्रेट पनि खटाएको थियो। यसका साथै मतदान केन्द्रहरूमा माइक्रो पर्यवेक्षकको तैनाथीसँगै भिडियोग्राफीको व्यवस्था पनि गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande