सरसंघचालक डा मोहन भागवत आजदेखि जबलपुरको तीन दिने भ्रमणमा
डॉ. मोहन भागवत (फाइल फोटो)


भोपाल, २४ अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक सङ्घका सरसङ्घचालक डा. मोहन भागवत आफ्नो नियमित भ्रमणअन्तर्गत आज शनिबारदेखि मध्यप्रदेशको जबलपुरमा तीनदिने भ्रमणमा आउँदैछन्। अक्टोबर २४ देखि २६ सम्म चल्ने यस भ्रमणका क्रममा उनले सङ्घका विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै स्वयंसेवक तथा जिम्मेवारी सम्हालिरहेका कार्यकर्तासँग संवाद गरी मार्गदर्शन गर्नेछन्।

महाकौशल प्रान्तका प्रान्त प्रचार प्रमुख विनोदकुमारका अनुसार, भ्रमणको पहिलो दिन डा. भागवतले जबलपुर महानगरमा बसोबास गर्ने सङ्घका प्रमुख स्थानीय पदाधिकारीहरूसँग भेटघाट गर्नेछन्। त्यसपछि मुख्य शिक्षक र त्यसभन्दा माथिल्लो जिम्मेवारीमा रहेका कार्यकर्तासँग संवाद गर्नेछन्। यस क्रममा सङ्गठनात्मक कार्यसँग सम्बन्धित विषयमा छलफल गर्नुका साथै कार्यकर्तालाई मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ।

उनले अक्टोबर २५ मा डा. भागवतले महाकौशल प्रान्तका महाविद्यालयमा अध्ययनरत स्वयंसेवकहरूको शिविरलाई सम्बोधन गर्ने जानकारी दिए। यस कार्यक्रममार्फत उनले युवा स्वयंसेवकसँग प्रत्यक्ष संवाद गर्नेछन्।

महाकौशल प्रान्त राष्ट्रिय स्वयंसेवक सङ्घको मध्य क्षेत्रअन्तर्गत पर्दछ। यस क्षेत्रमा ३८ वटा राजस्व जिल्ला समावेश छन्। ती जिल्लाका सम्भागीय मुख्यालय जबलपुर, सागर र रीवामा रहेका छन्।

भ्रमणको अन्तिम दिन अक्टोबर २६ मा सरसङ्घचालकले महाकौशल प्रान्तको कार्यकारिणी तथा विभागीय टोलीका सदस्यहरूसँग बैठक गर्नेछन्। बैठकमा सङ्घका सङ्गठनात्मक कार्य, गतिविधि र समसामयिक विषयमा छलफल गरिनेछ। साथै आगामी कार्ययोजनाबारे पनि विचारविमर्श गरिनेछ।

सरसङ्घचालकको तीनदिने भ्रमणलाई ध्यानमा राख्दै जबलपुर जिल्ला प्रशासनले व्यापक तयारी गरेको छ। प्रशासनले सुरक्षाका कारण रेल्वे स्टेसन, राइट टाउनस्थित राष्ट्रिय स्वयंसेवक सङ्घको कार्यालय केशव कुटी, नरसिंह मन्दिर शास्त्री ब्रिजस्थित सरस्वती शिक्षा परिषद् तथा करमेता क्षेत्रमा रहेको श्रीराम इन्जिनियरिङ कलेजको ५०० मिटरको परिधिमा ड्रोन उडाउन पूर्ण प्रतिबन्ध लगाएको छ।

अपर जिल्ला दण्डाधिकारी रविशङ्कर रायले भारतीय नागरिक सुरक्षा संहिता, २०२३ को धारा १६३ अन्तर्गत जारी गरेको उक्त प्रतिबन्धात्मक आदेश तत्काल लागू भएको छ।

आदेशमा कुनै व्यक्ति वा संस्थाले प्रतिबन्ध उल्लङ्घन गरेमा भारतीय न्याय संहिता, २०२३ को धारा २२३ लगायत अन्य कानुनी प्रावधानअनुसार दण्डात्मक कारबाही गरिने स्पष्ट पारिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande