ट्रेन सञ्चालनको सुरक्षा र विश्वसनीयता बढाउन उत्तर रेलवेले क्षमता अभिवृद्धि कार्यक्रम शुरु गर्यो
उत्तर रेलवे के गाजियाबाद स्थित विद्युत प्रशिक्षण केंद्र में ट्रैक्शन पावर कंट्रोलरों के क्षमता निर्माण कार्यक्रम के दौरान प्रशिक्षण लेते कर्मचारी।


नयाँ दिल्ली, २४ अक्टोबर (हि.स.)। ट्रेनहरूको सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्न उत्तर रेलवेअन्तर्गत विद्युत् विभागले कर्षण विद्युत् शक्ति नियन्त्रकहरू (टीपीसी) का लागि क्षमता अभिवृद्धि कार्यक्रम शुरु गरेको छ। यस कार्यक्रमको उद्देश्य कर्मचारीहरूको प्राविधिक सीप, सञ्चालन क्षमता तथा सुरक्षा सम्बन्धी दक्षतालाई सुदृढ बनाउनु हो। यसअन्तर्गत पहिलो तीनदिने प्रशिक्षण सत्र १२ देखि १४ अक्टोबरसम्म सञ्चालन गरिएको थियो। नोभेम्बरको अन्त्यसम्म छ चरणमा उत्तर रेलवेका सबै छवटा मण्डलका कर्मचारीहरूलाई प्रशिक्षण दिइनेछ।

उत्तर रेलवेका मुख्य जनसम्पर्क अधिकारी हिमांशु शेखर उपाध्यायले पहिलो प्रशिक्षण सत्रमा जम्मू, फिरोजपुर, अम्बाला, दिल्ली, मुरादाबाद र लखनउ मण्डलका १४ जना कर्मचारी सहभागी भएको जानकारी दिए। गाजियाबादस्थित विद्युत् प्रशिक्षण केन्द्रमा आयोजित प्रशिक्षणको पहिलो दिन टीपीसीका जिम्मेवारी, पर्यवेक्षण तथा तथ्याङ्क सङ्कलन प्रणाली (स्काडा), कर्षण उपकेन्द्रको सुरक्षा व्यवस्था तथा क्षेत्रीय कर्मचारी र नियन्त्रण केन्द्रबीच समन्वयसम्बन्धी जानकारी दिइएको थियो।

यसका अतिरिक्त, दिल्ली मण्डलका स्काडा तथा आरसीसी केन्द्रहरूका साथै चाणक्यपुरीस्थित २५ केभी कर्षण उपकेन्द्रको स्थलगत भ्रमण गराइएको थियो।

कर्षण विद्युत् शक्ति नियन्त्रकहरूले विद्युतीय रेल सञ्चालन प्रणालीअन्तर्गत २५ केभी विद्युत् आपूर्तिको निगरानी तथा नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। उनीहरूले क्षेत्रीय कर्मचारी र सञ्चालन नियन्त्रण केन्द्रबीच समन्वय गर्नुका साथै विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा उत्पन्न परिस्थितिसमेत व्यवस्थापन गर्छन्। यसलाई ध्यानमा राख्दै प्रशिक्षणमा सैद्धान्तिक कक्षा, अनुकरण प्रणालीमा व्यावहारिक अभ्यास र स्थलगत प्रशिक्षण समावेश गरिएको छ।

दोस्रो दिन अनुकरण प्रणालीमार्फत व्यावहारिक अभ्यास गराइएको थियो, जसमा सहभागीहरूले सामान्य सञ्चालन अवस्था तथा आपत्कालीन परिस्थितिको सामना गर्ने अभ्यास गरे। तेस्रो दिन चाणक्यपुरीस्थित कर्षण उपकेन्द्रमा उपकरण सञ्चालन र सुरक्षा व्यवस्थाबारे जानकारी दिइयो।

कार्यक्रमको समापनमा सहभागीहरूको ज्ञानको मूल्याङ्कन गरिनुका साथै उनीहरूबाट प्रतिक्रिया सङ्कलन गरी प्रमाणपत्र वितरण गरिएको थियो।

उपाध्यायका अनुसार, यस पहलले कर्मचारीहरूको प्राविधिक दक्षता र कार्यकुशलता बढाउन, विभिन्न एकाइबीच समन्वय सुधार गर्न तथा विद्युतीय कर्षण प्रणालीबाट सञ्चालित रेलहरूको सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande