नेपालमा चार हिमतालको जलस्तर घटाउने र छ नदीका बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना
नेपाल के ऊर्जा मंत्री विराजभक्त श्रेष्ठ


काठमाडौँ, २५ अक्टोबर (हि.स.)। नेपाल सरकारले बाढीको जोखिम न्यूनीकरण गर्न चार हिमतालको जलस्तर घटाउने र छ नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने योजना अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका छन्।

श्वेतपत्रमा हिमतालबाट उत्पन्न हुने बाढीको जोखिम कम गर्ने, मौसम पूर्वानुमानमा सुधार गर्ने र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्‍याउनेसम्बन्धी कार्यक्रम समावेश गरिएका छन्। यी श्वेतपत्रमा उपकरणको सङ्ख्या बढाउनेदेखि मौसम पूर्वानुमानका लागि आधुनिक प्रविधिको प्रयोग गर्नेसम्मका कार्यक्रम उल्लेख गरिएका छन्। तिनको कार्यान्वयनमा बजेटको निरन्तर उपलब्धता, दक्ष जनशक्ति र उपकरणको नियमित मर्मतसम्भारलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

हिमतालसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न प्रस्तावित ‘ग्लोफ सञ्जीवनी’ परियोजनाअन्तर्गत मनाङ जिल्लाको ठुलागी, सङ्खुवासभा जिल्लाको तल्लो बरुण तथा सोलुखुम्बु जिल्लाका लुम्दिङ छो र होंगु २ हिमतालको जलस्तर घटाउने योजना छ।

हिमताल फुटेर अचानक आउने बाढीलाई हिमताल विस्फोटजन्य बाढी भनिन्छ। यस प्रकारको बाढीले तल्लो क्षेत्रमा बसोबास गर्ने समुदाय, पूर्वाधार तथा जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande