गंगापूर्ण हिमालमा आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको शव भेटियो
गंगापूर्ण हिमाल


काठमाडौँ, २५ अक्टोबर (हि.स.)। नेपालको मनाङ जिल्लामा अवस्थित गंगापूर्ण हिमालमा पर्वतारोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको शव आइतबार फेला परेको छ। शवलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। आवश्यक जाँचपछि नेपालस्थित जापानी दूतावासको समन्वयमा शव आफन्तलाई बुझाइनेछ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार, निस्याङ गाउँपालिकामा पर्ने ७ हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमाल आरोहण गर्ने क्रममा जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतो शुक्रबारदेखि हराएका थिए। दुवै पर्वतारोही काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसँगै हिमाल आरोहणका लागि गएका थिए। उनीहरू गत १५ अक्टोबरदेखि सम्पर्कविहीन थिए।

प्रमुख जिल्ला अधिकारी खनालले करिब ७ हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकोप्टर र उद्धार टोली परिचालन गरिएको बताए। खोजीका क्रममा उनीहरूका झोला तथा पर्वतारोहणमा प्रयोग गरिएका उपकरणसमेत फेला परेका छन्।

उनले निरन्तर खोजी अभियानपछि आइतबार बिहान गंगापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटरको उचाइमा दुवै पर्वतारोहीको शव फेला परेको जानकारी दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande