गान्तोकमा प्रसिद्ध 'नेपथ्य' को सङ्गीतिक प्रस्तुति, १५ हजार दर्शक सहभागी हुने अपेक्षा
गान्तोकमा प्रसिद्ध 'नेपथ्य' को सङ्गीतिक प्रस्तुति


गान्तोक, २९ अक्टोबर (हि.स.)। नेपालको लोकप्रिय सङ्गीत समूह 'नेपथ्य' ले आगामी ३१ अक्टोबरमा गान्तोकस्थित पाल्जोर स्टेडियममा सङ्गीतिक प्रस्तुति दिने कार्यक्रमको तयारी तीव्र पारिएको छ। आयोजक समितिले उक्त कार्यक्रममा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ। दर्शकहरूमध्ये हजारौँ सिक्किमबाहिरका साथै विदेशबाट समेत आउने बताइएको छ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रम आयोजक समितिका प्रमुख संरक्षक तथा विधायक सञ्जीत खरेलले नेपथ्य समूहका सदस्यहरू बुधबार नै गान्तोक आइपुगेको जानकारी दिए। उनले कार्यक्रम भव्य रूपमा आयोजना गरिने बताउँदै अधिकांश टिकट बिक्री भइसकेको जानकारी दिए।

खरेलका अनुसार, बुधबारसम्म करिब ११ हजार टिकट बिक्री भइसकेका छन्। तीमध्ये सिक्किमबाहिरबाट लगभग चार हजार दर्शकले टिकट काटेका छन्। कार्यक्रममा लगभग १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। यसका साथै केही विदेशी नागरिकसमेत कार्यक्रममा सहभागी हुने सम्भावना रहेको उनले बताए।

उनले ३१ अक्टोबरका दिन पाल्जोर स्टेडियमको प्रवेशद्वार दिउँसो ३ बजी खोलिने जानकारी दिए। यसअघि प्रवेशद्वार साँझ ५ बजी खोल्ने समय निर्धारण गरिएको थियो। दर्शकहरूको सहज प्रवेश र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै समय परिवर्तन गरिएको उनले बताए। मञ्च निर्माणको काम शुक्रबारसम्म पूरा हुने उनले अगवत गराए।

कार्यक्रममा सहभागी हुने दर्शकहरूको सुरक्षा र यातायात व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको खरेलले बताए। उनले कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा भीड नियन्त्रण र सवारीसाधनको आवागमन व्यवस्थित गर्न पुलिसले आवश्यक तयारी गरेको जानकारी दिए। दर्शकहरूले सुरक्षित वातावरणमा कार्यक्रमको आनन्द लिन सकून् भन्ने उद्देश्यले आयोजक समिति र सम्बन्धित निकायले समन्वय गरिरहेको उनले बताए।

कार्यक्रमको आर्थिक महत्त्वबारे प्रकाश पार्दै विधायक खरेलले यसले सिक्किमको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउने बताए। कार्यक्रमका लागि गान्तोक आउने पर्यटक तथा सङ्गीतप्रेमीहरूको सङ्ख्या बढ्दा होटल, रेस्टुरेन्ट, ट्याक्सी व्यवसायी तथा अन्य स्थानीय व्यवसायले लाभ प्राप्त गर्ने अपेक्षा गरिएको बताए। यसबाट स्थानीय आर्थिक गतिविधि बढ्नुका साथै राज्यको राजस्वमा समेत योगदान पुग्ने उनले बताए।

नेपथ्यको यस प्रस्तुति सिक्किम, छिमेकी क्षेत्र तथा अन्य स्थानका सङ्गीतप्रेमीहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमलाई यस वर्ष गान्तोकमा आयोजना हुन लागेका प्रमुख सङ्गीतिक कार्यक्रमहरूमध्ये एकका रूपमा हेरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande