
झाड़ग्राम, 29 अक्टोबर (हि.स.)। भगवान बिरसा मुण्डाको जयन्तीको अवसरमा आगामी 15 नोभेम्बरमा झाड़ग्राम जिल्लाको बेलपहाडीस्थित साहाड़ीमा 'जनजातीय गौरव दिवस' मनाइनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारी कार्यक्रममा सहभागी हुने सम्भावना छ। मुख्यमन्त्रीको सम्भावित भ्रमणका लागि जिल्ला प्रशासनले तयारी शुरु गरेको छ।
गए बुधवार साँझ झाड़ग्राम जिल्ला मेजिस्ट्रेट आकांक्षा भास्कर र पुलिस अधीक्षक मानव सिङ्गलाले साहाड़ी मैदानमा प्रस्तावित बैठकस्थलको निरीक्षण गरे। यस अवसरमा बिनपुरका विधायक प्रणत टुडू सहित प्रशासन एवं पुलिसका धेरै जना अधिकारीहरू उपस्थित थिए। प्रशासनिक अधिकारीहरूले बिहीवार पनि अन्य ठाउँहरूको भ्रमण गर्ने सम्भावना छ। यस अवधि पार्किङ व्यवस्था, सुरक्षा व्यवस्था तथा ट्राफिक नियन्त्रणसँग सम्बन्धित पक्षहरूको जायजा लिइनेछ।
निरीक्षणको क्रममा अधिकारीहरूले सभा मञ्चको निर्माण, हेलिप्याड, दर्शकका लागि बस्ने व्यवस्था अनि गण्यमान्य व्यक्तिहरूको आवागमनका लागि मार्गको समीक्षा गरे। यसको साथै सुरक्षा व्यवस्था, ट्राफिक नियन्त्रण, ब्यारिकेडिङ्ग र आपतकालीन सेवाहरूको उपलब्धता सुनिश्चित गर्ने विषयमा पनि चर्चा गरियो।
प्रशासनिक सूत्र अनुसार मुख्यमन्त्रीको सम्भावित भ्रमणलाई सुचारू रूपमा सम्पन्न गराउनको लागि आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्थाको तयारी गरिँदैछ। बिर्सा मुण्डाको जन्मजयन्तीमा आयोजना हुने उक्त कार्यक्रमको लागि जिल्ला प्रशासन सक्रिय भएको छ।
उल्लेख्य, आदिवासी समाजको इतिहास, संस्कृति एवं परम्परालाई सम्मान गर्न 'जनजातीय गौरव दिवस' मनाइन्छ। यस अवसरमा साहाड़ीमा प्रस्तावित कार्यक्रमलाई सफल बनाउन प्रशासनिक स्तरमा तयारी शुरु गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा