विवाह गर्न अस्वीकार गर्दै जीएसटी निरीक्षकमाथि धोका दिएको आरोप, युवतीद्वारा पुलिसमा उजुरी
सांकेतिक छवि


कोलकाता, ३० अक्टोबर (हि.स.)। विवाह गर्ने आश्वासन दिएर लामो समयसम्म शारीरिक सम्बन्ध राखेको र पछि विवाह गर्न अस्वीकार गरेको आरोप एक जीएसटी निरीक्षकमाथि लागेको छ। युवती अनुसार, विवाहका लागि दबाब दिएपछि युवकले उनीसँग सम्पर्क तोड़ेका थिए। यति मात्र नभई, मुख बन्द राख्न ३० लाख रुपियाँ दिने प्रस्ताव समेत राखेका थिए। त्यसपछि युवतीले बागुईआटी थानामा लिखित उजुरी दर्ता गराएकी छन्।

प्राप्त जानकारी अनुसार, आरोपीको नाम दीपायन राय हो। उनी उत्तर २४ परगना जिल्लाको न्यु ब्यारेकपुर स्थित बीटी कलेज क्षेत्रका निवासी हुन्। युवती अनुसार, दीपायनसँग लामो समयदेखि उनको प्रेम सम्बन्ध थियो। दुवै जना धेरै पटक सँगै घुम्न समेत गएका थिए।

युवतीको आरोप अनुसार, विवाह गर्ने आश्वासन दिएर आरोपीले शहरका विभिन्न होटलमा उनीसँग शारीरिक सम्बन्ध राखेका थिए। उनले चाँड़ै कानूनी रूपमा विवाह गर्ने आश्वासन समेत दिएका थिए। तर लामो समय बितिसक्दा पनि विवाह नभएपछि युवतीले उनीमाथि विवाहका लागि दबाब दिन थालिन्। त्यसपछि युवकले विवाह गर्न स्पष्ट रूपमा अस्वीकार गरे।

युवतीले पुलिसमा उजुरी दिने कुरा बताएपछि आरोपीले घटना दबाउन उनलाई ३० लाख रुपियाँ दिने प्रस्ताव राखेको आरोप छ। त्यसपछि उनले अचानक युवतीसँगको सम्पर्क पूर्ण रूपमा बन्द गरे।

अन्ततः युवतीले बागुईआटी थानामा लिखित उजुरी दर्ता गराइन्। उजुरी प्राप्त भएपछि पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। पुलिस अनुसार, घटनापछि आरोपी दीपायन राय फरार छन्। उनको खोजी भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande