
वरिष्ठ विधाका विजेतालाई १० लाख र कनिष्ठ विधाका विजेतालाई दुई लाख रुपियाँ पुरस्कार
गान्तोक, ३१ अक्टोबर (हि.स.)। सिक्किमका सङ्गीत प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सिक्किम आइडल इन्टरनेशनल सिजन-3’ को अनलाइन अडिसन प्रक्रिया आजदेखि औपचारिक रूपमा खुल्ला गरिएको छ। यस सम्बन्धमा आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य कार्यक्रम परिचालन अधिकारी डा. मनोज राईले प्रतियोगिताको अनलाइन अडिसन २५ नोभेम्बर, २०२६ सम्म सञ्चालन हुने जानकारी दिए।
डा. राईका अनुसार, गत वर्ष सिक्किमभित्रका प्रतिभाहरूका लागि मात्र सीमित रहेको यो प्रतियोगिता यस वर्षदेखि सबैका लागि खुल्ला गरिएको छ। इच्छुक जोकोहीले पनि यसमा सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगिताको भौतिक अडिसन ३० नोभेम्बर, २०२६ मा काठमाडौं र देहरादूनमा आयोजना गरिनेछ। त्यसैगरी, ३ दिसम्बरमा गुवाहाटी, सिलगढी, दार्जिलिङ, कालेबुङ र गान्तोकमा अडिसन सञ्चालन गरिनेछ। उनले प्रत्येक स्थानमा स्थानीय निर्णायकहरूको सहयोगमा अडिसन प्रक्रिया अघि बढाइने बताए। अनलाइन अडिसनबाट छनोट भएका कलाकारहरूलाई भौतिक अडिसनमा प्राथमिकता दिइने पनि उनले स्पष्ट पारे।
उनले प्रतियोगिता वरिष्ठ र कनिष्ठ गरी दुई विधामा सञ्चालन हुने बताए। वरिष्ठ विधामा १५ वर्षमाथिका सबैले सहभागिता जनाउन सक्नेछन् भने कनिष्ठ विधा १४ वर्षमुनिका सिक्किमका प्रतिभाहरूका लागि मात्र खुल्ला रहनेछ।
उनका अनुसार, प्री मेगा अडिसन सिलगढी र गान्तोकमा आयोजना गरिनेछ। दुवै स्थानबाट १६-१६ जना गरी कुल ३२ जना प्रतियोगी गाला चरणका लागि छनोट हुनेछन्। त्यसपछि अन्तिम प्रतिस्पर्धाका लागि पाँच-पाँच जना प्रतियोगी छनोट गरिनेछ। प्रतियोगितामा नेपाली भाषाका गीतहरू मात्र प्रस्तुत गर्न पाइने उनले बताए।
विजेताहरूका लागि पुरस्कार राशि घोषणा गर्दै डा राईले भने, वरिष्ठ विधाका विजेताले १० लाख, प्रथम उपविजेताले पाँच लाख र दोस्रो उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्नेछन्। त्यसैगरी, कनिष्ठ विधाका विजेताले दुई लाख, प्रथम उपविजेताले डेढ लाख र दोस्रो उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन्। कनिष्ठ विधाका विजेतालाई पुरस्कारका अतिरिक्त सङ्गीत तथा शैक्षिक छात्रवृत्तिसमेत प्रदान गरिनेछ।
सिक्किम आइडलका संरक्षक सञ्जय राईले मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका कलाकार तथा सङ्गीत प्रतिभाहरूको विकासलाई विशेष प्राथमिकता दिँदै आएको बताए। सिक्किमका कलाकारहरूले विश्वभर आफ्नो प्रतिभा प्रदर्शन गरी राज्यको नाम गौरवान्वित गरून् भन्ने मुख्यमन्त्रीको चाहना रहेको उनले उल्लेख गरे।
यस प्रतियोगिताले सिक्किमका साथै अन्य क्षेत्रका प्रतिभाशाली गायकहरूलाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सिक्किमको सङ्गीत क्षेत्रलाई व्यापक पहिचान दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल