
मुम्बई, 0५ अक्टोबर (हि.स.)। अभिनेत्री रकुल प्रीत सिंहले आफूसँग सम्बन्धित आयकर विभागको खानतलासीबारे प्रकाशित समाचारलाई गलत भन्दै सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छन्। वास्तवमा, गत महिना आयकर विभागले रकुल, उनका ससुरा तथा चलचित्र निर्माता वासु भगनानी र मुम्बई स्थित पानोरमा स्टुडियोसँग सम्बन्धित विभिन्न स्थानमा खानतलासी गरेको समाचार सार्वजनिक भएको थियो। अहिले रकुलले यी दाबीहरू अस्वीकार गर्दै तथ्य पुष्टि नगरी समाचार प्रकाशित गर्नेहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
रकुलले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त खानतलासी आफूलाई लक्षित गरेर नभएको बताएकी छन्। आफू सशस्त्र बलको पृष्ठभूमिबाट आएको र चलचित्र उद्योगमा आफ्नो कुनै गडफादर नरहेको उनले बताइन्। अभिनेत्रीले आफूले मेहनतका बुतामा यो स्थान हासिल गरेको र २० वर्षको उमेरदेखि जिम्मेवार नागरिकका रूपमा नियमित रूपमा कर तिर्दै आएको बताइन्। उनले आफू व्यक्तिगत रूपमा वा कुनै चलचित्र निर्माण कम्पनीको तर्फबाट कुनै गैरकानुनी विदेशी कारोबारमा संलग्न नरहेको पनि स्पष्ट पारेकी छन्।
रकुलले आफ्नो नाममा देश वा विदेशमा कुनै बेनामी सम्पत्ति नरहेको र आफूले कहिल्यै कसैबाट महँगो सम्पत्ति उपहारका रूपमा नलिएको पनि बताइन्। उनले सम्बन्धित समाचार प्रकाशित गर्नेहरूलाई समाचार फिर्ता लिन र सही तथ्य सार्वजनिक गर्न आग्रह गरेकी छन्। अभिनेत्रीले सञ्चारमाध्यममाथि व्यावसायिक दबाब हुनसक्ने भए पनि त्यसको मूल्य सत्य, कसैको प्रतिष्ठा वा जीविकोपार्जनले चुकाउनु नहुने बताइन्।
रकुल छिट्टै नितेश तिवारीको आगामी चलचित्र ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन्। उक्त चलचित्र दिवाली २०२६ मा प्रदर्शन हुने बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी