राज्यपाल माथुरले ‘हायर कमान्ड कोर्स ५५’ का सैन्य अधिकारीसँग संवाद गरे
राज्यपाल र सैन्य अधिकारीहरू


गान्तोक, 06 अक्टोबर (हि.स.)। राज्यपाल ओमप्रकाश माथुरले ‘हायर कमान्ड कोर्स ५५’ मा सहभागी सैन्य अधिकारीहरूसँग मंगलबार लोकभवनको सम्मेलन कक्षमा विशेष अन्तरक्रियात्मक सत्र गरेका छन्। कार्यक्रममा आर्मी वार कलेजका कमान्डेन्ट लेफ्टिनेन्ट जनरल अजय चांदपुरिया (एभीएसएम, भीएसएम) तथा ‘हायर कमान्ड कोर्स’ का सैन्य अधिकारीहरूसँग शिष्टाचार भेट एवं अन्तरक्रिया गरे।

अन्तरक्रियाका क्रममा राज्यपाल माथुरले सैन्य अधिकारीहरूसँग विस्तृत संवाद गर्दै सिक्किमका सीमावर्ती क्षेत्रहरूको भ्रमणका क्रममा आफूले प्राप्त गरेका व्यक्तिगत अनुभवहरू साझा गरे।

सैन्य अधिकारीहरूले सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले सामना गर्नुपर्ने भौगोलिक चुनौती, पूर्वाधार विकास, सम्पर्क तथा वातावरण संरक्षणलगायत विषयमा विभिन्न जिज्ञासा राखेका थिए।

बढ्दो पर्यटनसँगै सिक्किमको संवेदनशील पर्यावरण संरक्षणका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै राज्यपाल माथुरले स्वच्छता र पर्यावरणप्रतिको संवेदनशीलता सिक्किमका जनताको व्यवहारमै गहिरोसँग जोडिएको बताए। उनले सिक्किमका बासिन्दा यस विषयमा पूर्ण रूपमा सचेत रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागी आर्मी वार कलेजका कमान्डेन्ट तथा सैन्य अधिकारीहरूले सीमावर्ती क्षेत्रहरूको निरन्तर भ्रमण गरी अग्रिम चौकीमा तैनाथ सैनिकहरूको मनोबल बढाउँदै आएकोमा राज्यपाल माथुरप्रति आभार व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande