
मुर्शिदाबाद, 05 अक्टोबर (हि.स.)। रेजीनगर विधानसभा उपचुनाउको क्रममा मङ्गलवार ठूलो राजनीतिक नाटक र कोकोहोलो देख्न पाइयो। मतदान भइरहँदा बिहानदेखिकै पुलिस एवं प्रशासनविरुद्ध आक्रामक प्रवृत्ति अप्नाउँदै चर्को बयानबाजी गर्ने आम जनता उन्नयन पार्टीका प्रमुख हुमायुँ कबीरलाई पुलिसले हिरासतमा लिएको छ। उनले पुलिसकर्मीहरूविरुद्ध भड़्काउने टिप्पणी गरेको केही समयपछि नै पुलिस रेजीनगरस्थित उनको पार्टी कार्यालयमा पुग्यो। पुलिसले उनलाई कार्यालयबाटै गलहत्याएर भ्यानमा चढ़ायो अनि थाना लग्यो।
जानकारीअनुसार मङ्गलवार बिहान मतदान गर्न गएका हुमायुँ कबीरले पुलिस प्रशासनमाथि निरन्तर आक्रमण गरिरहेका थिए। मतदान गरेपछि उनले मतदान केन्द्र बाहिर अनि त्यसपछि आफ्नो पार्टी कार्यालयबाट पुलिसविरुद्ध आफ्नो भड़ास निकाले। यसैबीच पुलिस बल उनको कार्यालयमा पुग्यो जहाँ पुलिसकर्मीहरूसित उनको चर्का-चर्की पऱ्यो।
हुमायुँले पुलिसलाई हप्काउँदै भने, उनीहरूले कसैको दलाली नगरून्। स्थिति यहाँसम्म पुग्यो कि पुलिससित उनको धक्का-मुक्का भयो। त्यसपछि पुलिसले उनलाई बलजफ्ती वाहनमा बसाएर थाना लग्यो।
यसअघि हुमायुँ कबीरले आरोप लगाएका थिए, मङ्गलवार बिहानदेखि नै उनको घर बाहिर पुलिसलाई तैनाथ गरिएको छ। मतदान गरेपछि उनले अत्यन्त आपत्तिजनक टिप्पणी गर्दै भने, मुख्यमन्त्री शुभेन्दु अधिकारीले हरेक बूथमा एल्सेशियनलाई राखेका छन्। उनले आम जनतालाई पुलिसविरुद्ध भड्काउँदै कानुनलाई आफ्नो हातमा लिनको लागि पनि उक्साएका थिए।
आफ्नो बयानमा हुमायुँले भने, के पुलिस दुधले नुहाएको छ? के शुभेन्दु अधिकारीको पुलिसले चुनाउको नाममा जनताको लोकतान्त्रिक अधिकार खोस्नेछ? हाम्रा 64 जना कार्यकर्तालाई पक्राउ गरेपछि पनि उनीहरूले शान्ति पाएनन्। आज बिहान पुलिसले गरेको व्यवहारलाई देखेर रेगीनगरका मानिसहरूलाई आह्वान गर्दछु कि उनीहरू यसको विरोधमा लौरो बोकेर उभिनुपर्छ। उनले पुलिसलाई सोझै चुनौती दिँदै भने, यदि पुलिस उनलाई कुट्न आयो भने उनीहरूले पनि पुलिसलाई छोड्ने छैनन्। उनले यस्तो आक्रामक र उत्तेजक बयान दिएको लगत्तैपछि, पुलिसले उनलाई हिरासतमा लिने कड़ा कारबाही गऱ्यो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा