पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा चारवटा प्रमुख डिजिटल पहल शुरु
Tshering T. Bhutia


गान्तोक, 06 अक्टोबर (हि.स.)। पर्यटन तथा नागरिक उड्डयन एवं वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ टी भोटियाको उपस्थितिमा पर्यटन तथा नागरिक उड्डयन विभागले चारवटा प्रमुख डिजिटल पहल शुरु गरेको छ।

पहिलो पहलअन्तर्गत ‘एडभेञ्चचर फेस्ट वेब पोर्टल’ को शुरुआत गरियो। यो पोर्टल 1 देखि 7 नोभेम्बरसम्म नाम्ची जिल्लाको लिङ्खिमटारमा आयोजना हुने साहसिक पर्यटनका लागि तयार पारिएको हो। भिडियो प्रस्तुतीकरणमार्फत यस पोर्टलका विशेषता र कार्यक्षमताबारे जानकारी गराइयो।

दोस्रो पहल ‘इन्स्टिट्युट अफ् होटल म्यानेजमेन्ट’ (आईएचएम) मा ‘ई-अफिस’ प्रणालीको कार्यान्वयन रहेको थियो। यसको कार्यान्वयनसँगै आईएचएम पूर्ण रूपमा अनलाइन प्रणालीमा जाने सिक्किमको पहिलो संस्था बन्नेछ।

तेस्रो पहलमा ‘सिक्किम पर्यटन विकास निगम’ (एसटीडीसी) मा ‘ई-अफिस’ प्रणाली अपनाउने कार्य समावेश थियो। एसटीडीसी ‘ई-अफिस’ अपनाउने राज्यको पहिलो सार्वजनिक क्षेत्रको उपक्रम (पीएसयू) बन्नेछ।

चौथो पहलमा स्तरोन्नति गरिएको ‘अतिथि जीआईएस पोर्टल’ को शुभारम्भ हो, जसमा सेवाहरूलाई सरल र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न विशेषता समावेश गरिएको छ। स्तरोन्नति गरिएको यस पोर्टलमा बुकिङको सरल प्रक्रियाका साथै अतिथिहरूका लागि ‘सेल्फ-बुकिङ’ सुविधा र तत्काल कारोबारका लागि अनलाइन भुक्तानीको विकल्प पनि समावेश छन्।

यी पहलहरूको शुरुआतपछि मन्त्रीले प्रस्तावित ‘ग्रीनफिल्ड एयरपोर्ट’ को वर्तमान अवस्थाबारे पनि जानकारी गराए साथै विशिष्ट व्यक्तिहरूले सिक्किम साहसिक पर्यटन उत्सवको टी-सर्ट र पुस्तिका पनि औपचारिक अनावरण गरे।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा, एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइली, पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त तथा सचिव राज यादव, पर्यटन तथा नागरिक उड्डयन सचिव होण्डाला ग्याल्छेन, प्रधान मुख्य सचिव नीरज प्रधानका साथै विभागका वरिष्ठ अधिकारी र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande