
गान्तोक, 06 अक्टोबर (हि.स.)। सेवा संकल्प अभियानअन्तर्गत भारतीय जनता पार्टी (भाजपा) सिक्किम महिला मोर्चाले लोअर श्यारीस्थित एकीकृत बाल विकास सेवा (आईसीडीएस) केन्द्रमा आँगनबाडी मिलन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा भाजपा सिक्किमका राज्य प्रभारी तथा सांसद राजु बिष्ट, राज्य महासचिव अर्जुन राई, महिला मोर्चाकी अध्यक्ष तथा पार्षद् सृजना छेत्रीलगायत पार्टीका पदाधिकारी तथा महिला मोर्चाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा सांसद राजु बिष्टले मातृ तथा बाल कल्याणका क्षेत्रमा योगदान पुर्याउँदै आएका आँगनबाडी तथा आशा कार्यकर्ताहरूलाई सम्मान गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनले केन्द्रमा रहेका बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूसँग समयसमेत बिताए।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले आईसीडीएस केन्द्रको सञ्चालन तथा सेवाबारे जानकारी लिए। टोलीले केन्द्रका कार्यकर्ताहरूसँग उपलब्ध सुविधा, प्रदान गरिँदै आएका सेवा तथा केन्द्रले सामना गरिरहेका चुनौतीबारे छलफल गरेको थियो।
सेवा पहलअन्तर्गत बालबालिका तथा लाभार्थीहरूको उपयोगका लागि पोषण सामग्रीसहित विभिन्न आवश्यक सामग्रीसमेत केन्द्रलाई हस्तान्तरण गरिएको थियो।
भाजपा सिक्किमका अनुसार, आँगनबाडी मिलन कार्यक्रमले महिला तथा बालबालिकाको कल्याणमा केन्द्रित हुँदै स्थानीय तहमा सेवा तथा समर्पणको भावनालाई थप सुदृढ गर्ने पार्टीको प्रयासलाई निरन्तरता दिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल