सोनादा डिग्री कलेजकी नवनियुक्त सभापति डा. उर्वशी प्रधानलाई स्वागत
Sonada degree college


सोनादा, 06 अक्टोबर (हि.स.)। सोनादा डिग्री कलेजको सञ्चालन समितिकी नवनियुक्त सभापति डा. उर्वशी प्रधानलाई कलेजको प्रेक्षागृहमा मंगलवार 6 अक्टोबरका दिन आयोजित कार्यक्रममा स्वागत गरियो। प्राचार्य डा. योगेश खाती, शिक्षण तथा अशिक्षण कर्मचारी र विद्यार्थीहरूले उहाँलाई पुष्पगुच्छ र माल्यार्पण गरी स्वागत जनाए।

कार्यक्रममा डा. प्रधानको परिचय प्रस्तुत गर्दै प्राचार्य डा. खातीले उनको शैक्षिक, अनुसन्धान र सामाजिक विकासका क्षेत्रमा रहेको योगदानबारे जानकारी दिए। डा. प्रधानले अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एन्ड द इन्भाइरोन्मेन्ट (एट्री) बाट विज्ञानमा विद्यावारिधि र पारिस्थितिकी तथा पर्यावरण जीवविज्ञानमा विशेषज्ञतासहित प्राणीशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनले नेसनल सेन्टर फर बायोलोजिकल साइन्सेस, टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्चमा विद्यावारिधिपछिको अनुसन्धानसमेत गरेकी छन्।

डा. खातीले दार्जिलिङ र सिक्किममा वन, स्थानीय सामाजिक, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण जीविकोपार्जनका क्षेत्रमा डा. प्रधानको लामो अनुभव रहेको बताए। एट्री, डब्लूडब्लूएफ-इन्डिया, नाबार्डलगायत विभिन्न संस्थासँग आबद्ध भएर काम गरेकी डा. प्रधानले अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीमा अतिथि अनुसन्धानकर्ताका रूपमा पनि काम गरेकी छन्। उनको अनुभव र नेतृत्वबाट कलेजको शैक्षिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास प्राचार्य खातीले व्यक्त गरे।

आफ्नो सम्बोधनमा नवनियुक्त सभापति डा. उर्वशी प्रधानले सोनादा डिग्री कलेजको सभापतिको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरिन्। कलेजको गौरव र गरिमा अझ बढाउन सबैले समर्पित भएर काम गर्नुपर्ने बताउँदै उनले एका- अर्काको साथ र सहयोगबाट मात्र संस्थाको उत्तरोत्तर प्रगति सम्भव हुने धारणा राखिन्।

यस अवसरमा डा प्रधानको बाहुलीबाट बितेका केही दिनदेखि निरन्तर रुपमा सम्पन्न भइरहेको सेवा संकल्प कार्यक्रममा सहभागी हुने कलेजका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्रहरु पनि प्रदान गरिएको कलेजका उप- प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande