मानव उत्थान सेवा समिति सिक्किमले रम्फूमा दुई दिवसीय आध्यात्मिक जनचेतना कार्यक्रम आयोजना गर्ने
मानव उत्थान सेवा समिति


गान्तोक, ०६ अक्टोबर (हि.स.)। मानव उत्थान सेवा समिति सिक्किमले सिक्किम भारतको अभिन्न अङ्गका रूपमा मान्यता प्राप्त गरेको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा रम्फूमा दुईदिवसीय आध्यात्मिक जनचेतना कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी १० र ११ अक्टोबर, २०२६ मा रम्फू खेल मैदानमा आयोजना हुनेछ।

मानव उत्थान सेवा समितिका पदाधिकारीहरूले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिएका हुन्।

समितिका उपाध्यक्ष पूर्ण योञ्जनका अनुसार, कार्यक्रममा मानव धर्मका प्रणेता परमपूज्य सद्गुरुदेव श्री सतपालजी महाराज, विभुजी महाराज तथा भारतका प्रख्यात आत्मज्ञान प्रचारक सन्त-महात्माहरूको उपस्थिति रहनेछ। उनीहरूले प्रवचन तथा आध्यात्मिक चर्चामार्फत उपस्थित जनसमुदायलाई आत्मज्ञान प्राप्तिका लागि प्रेरित गर्नेछन्।

योञ्जनले कार्यक्रमको पहिलो दिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित हुने तथा दोस्रो दिन राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि रहने जानकारी दिए। उनले प्रदेशवासीलाई परिवारसहित कार्यक्रममा सहभागी भई सद्गुरुदेव तथा सन्त-महात्माहरूको प्रवचन श्रवण गरेर आध्यात्मिक लाभ लिन आह्वान गरे।

कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै योञ्जनले दुईदिवसीय सम्मेलनमा १५ देखि २० हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको बताए। उनले समितिले सञ्चालन गरिरहेको मिसन एजुकेसन लगायत सिक्किममा मानव उत्थान सेवा समितिको इतिहास र विभिन्न सामाजिक गतिविधिबारे पनि जानकारी दिए।

यसैगरी, मानव उत्थान सेवा समितिको उत्तरपूर्वाञ्चल क्षेत्रका मूल सचिव प्रकाश हाङखिमले दुईदिवसीय सम्मेलनसँगै समितिको मिसन एजुकेसन र मिसन मेडिसिन सम्बन्धी गतिविधिबारे प्रकाश पारे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande