
इस्लामाबाद (पाकिस्तान), ११ नोभेम्बर (हि.स.)। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सी ५ (चश्मा ५) आणविक ऊर्जा केन्द्र देशका जनताका लागि स्वच्छ विद्युत् तथा ऊर्जा सुरक्षाको प्रतीक रहेको बताएका छन्। प्रधानमन्त्रीले मंगलबार प्रसारित एक कार्यक्रममा यस्तो बताएका हुन्। मियाँवाली नजिकै रहेको सी ५ आणविक ऊर्जा केन्द्रमा ‘डोम’ (गुम्बज) जडान गर्ने अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
‘डन’ अखबारको समाचारअनुसार, सरकारी प्रेस विज्ञप्तिमा यसलाई पाकिस्तान आणविक ऊर्जा आयोगका लागि ठूलो उपलब्धि भनिएको छ। विज्ञप्तिमा सी ५ परियोजनाको विद्युत् उत्पादन क्षमता १२०० मेगावाट रहने र २०३० को सेप्टेम्बरदेखि यहाँ विद्युत् उत्पादन शुरु हुने अपेक्षा गरिएको उल्लेख छ।
प्रधानमन्त्री शहबाजले उक्त संरचना कङ्क्रिट र स्टिलबाट बनेको भए पनि यसले स्वच्छ, भरपर्दो तथा सस्तो विद्युत् उपलब्ध गराउने प्रतिबद्धता बोकेको बताए।
प्रधानमन्त्रीले २०२३ को जुलाईमा यस परियोजनाको शिलान्यास गर्न आफू उक्त स्थानमा पुगेको स्मरण गर्दै त्यसबेला पाकिस्तानले कसैको प्रतीक्षा नगरी आफ्नो कडा मेहनत र निरन्तर प्रयासबाट आफ्नै भविष्य निर्माण गर्ने बताएका थिए।
उनले भने, “आज साढे तीन वर्षभन्दा कम समयमै निर्धारित समयभन्दा अगाडि नै डोम आफ्नो स्थानमा जडान गरिएको छ।” उनले यसलाई देशका लागि गर्वको क्षण बताए।
पाकिस्तानको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको भन्दै उनले रक्षा बलका प्रमुख तथा सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनीरप्रति आभार व्यक्त गरे। साथै, पाकिस्तानको सातौँ आणविक ऊर्जा केन्द्र सी ५ निर्माणमा सहयोग गरेकोमा चीनप्रति पनि धन्यवाद व्यक्त गरे।
चीनका राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिँदै प्रधानमन्त्री शहबाजले भने, “यो कहिल्यै नडगमगाएको मित्रताको प्रत्यक्ष प्रमाण हो, परिस्थिति जतिसुकै कठिन किन नहोस्।”
उनले दुई देशबीचको मित्रतालाई प्रायः हिमालयभन्दा अग्लो, महासागरभन्दा गहिरो, महभन्दा गुलियो तथा सुन र हिराभन्दा मूल्यवान् एवं स्टिलभन्दा बलियो भनेर वर्णन गरिने गरेको बताए।