
वेलिङ्टन, ११ नोभेम्बर (हि.स.)। भारतविरुद्ध नोभेम्बर १९ देखि शुरु हुने दुई टेस्ट खेलको शृङ्खलाका लागि न्युजिल्यान्डले आफ्नो टोली घोषणा गरेको छ। टोलीमा ज्याकब डफी, रचिन रविन्द्र, डेभोन कन्वे र टम ब्लन्डेलको पुनरागमन भएको छ।
रविन्द्र, कन्वे र ब्लन्डेल चोट तथा स्वास्थ्यसम्बन्धी समस्याका कारण भारतविरुद्धको सीमित ओभरको शृङ्खलामा खेल्न सकेका थिएनन्।
रचिन रविन्द्रलाई भारतविरुद्धको टी २० अन्तरराष्ट्रिय शृङ्खलाअघि एउटा प्रचार कार्यक्रममा सहभागी हुने क्रममा दाहिने काँधमा चोट लागेको थियो। उनको काँधको जोर्नी खुस्किएको थियो, जसका कारण उनी एकदिवसीय तथा टी२० अन्तरराष्ट्रिय शृङ्खलाबाट बाहिरिएका थिए। त्यसैगरी, डेभोन कन्वे प्रारम्भिक एकदिवसीय खेलअघि लागेको चोटबाट निको भइरहेका थिए भने टम ब्लन्डेल तिघ्राको मांसपेशीमा आएको तन्काइबाट समस्यामा थिए।
यस वर्षको शुरुआतमा इंग्ल्यान्डलाई २-१ ले टेस्ट शृङ्खलामा पराजित गरेको न्युजिल्यान्ड टोलीबाट बेन सियर्स, ज्याक फोक्स र विल ओ’रुर्कलाई बाहिर राखिएको छ। सियर्स गोलीगाँठो र फोक्स कम्मरको चोटबाट पीडित छन् भने ओ’रुर्क पुनरागमनको प्रक्रियामा छन्। केन विलियमसन पनि टोलीमा छैनन्। उनले इंग्ल्यान्डविरुद्धको पछिल्लो शृङ्खलाको बीचमै सन्न्यास लिएका थिए।
टम ल्याथमको कप्तानीमा रहेको टोलीमा ज्याकब डफीको पनि पुनरागमन भएको छ। भारतविरुद्धको यो टेस्ट शृङ्खला न्युजिल्यान्डका नयाँ ब्याटिङ प्रशिक्षक बीएल वाटलिङको कार्यकालको पनि सुरुआत हुनेछ। उनले नोभेम्बर १६ देखि आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
न्युजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टरले भने, “यो शृङ्खला ब्ल्याकक्याप्सका लागि टेस्ट क्रिकेटको रोमाञ्चक घरेलु सत्रको शुरुआत हो। टोली लगभग त्यही छ, जसले यस वर्षको शुरुआतमा इंग्ल्यान्डमा प्रतिस्पर्धा गरेको थियो। त्यसैले पुनः एकसाथ खेल्न र घरेलु मैदानमा उक्त सफलतालाई दोहोर्याउने प्रयास गर्न पाउनु राम्रो हुनेछ।”
उनले भने, “मार्चसम्म कुल १० टेस्ट खेल खेल्नुपर्ने भएकाले टेस्ट क्रिकेटका प्रशंसकहरूका लागि खेलहरूको कुनै कमी हुनेछैन। विश्व टेस्ट च्याम्पियनसिपका महत्त्वपूर्ण अङ्क दाउमा हुनेछन्, तर हाम्रो ध्यान भारतजस्तो बलियो टोलीविरुद्ध आफ्नो उत्कृष्ट क्रिकेट खेल्नमा केन्द्रित हुनेछ।”
न्युजिल्यान्डको टोली हाल विश्व टेस्ट च्याम्पियनसिपको अङ्क तालिकामा शीर्ष स्थानमा छ। भारतविरुद्धको दुई टेस्ट खेलको शृङ्खलापछि न्युजिल्यान्डले दिसम्बर-जनवरीमा अस्ट्रेलियाविरुद्ध चार टेस्ट खेल खेल्नेछ। त्यसपछि फरवरीमा श्रीलङ्काविरुद्ध दुई टेस्ट खेलको शृङ्खला हुनेछ।
भारतविरुद्धको टेस्ट शृङ्खलाका लागि न्युजिल्यान्ड टोली
टम ल्याथम (कप्तान), टम ब्लन्डेल (विकेटकिपर), डेभोन कन्वे, ज्याकब डफी, म्याट हेनरी, काइल जेमिसन, ड्यारिल मिचेल, हेनरी निकोल्स, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, नाथन स्मिथ, ब्लेयर टिकनर र विल यङ।
हिन्दुस्थान समाचार / बिशाल