सचिन तेन्दुलकरका २६ ऐतिहासिक ब्याट अब मुम्बई क्रिकेट सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने
पूर्व भारतीय क्रिकेटर सचिन तेंदुलकर


- ‘ब्याटोग्राफी’ मार्फत देखाइनेछ मास्टर ब्लास्टरको क्रिकेट यात्रा, नोभेम्बर १६ मा गरिनेछ अनावरण

मुम्बई, ११ नोभेम्बर (हि.स.)। भारतीय क्रिकेटको विरासतलाई सुरक्षित राख्ने र खेलको इतिहासको संरक्षण गर्ने दिशामा महत्वपूर्ण पहल गर्दै महान् क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो करियरका केही विशेष ब्याट तथा स्मरणीय सामग्रीहरू मुम्बई क्रिकेट सङ्घ (एमसीए) लाई उपहारस्वरूप प्रदान गर्ने भएका छन्। यसमा उनले आफ्नो अन्तरराष्ट्रिय करियरका १०० शतक प्रहार गर्दा प्रयोग गरेका ब्याटहरू पनि समावेश छन्। यी सबै सामग्री एमसीएको शरद पवार क्रिकेट सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिनेछन्। यस विशेष सङ्ग्रहको अनावरण १६ नोभेम्बर, २०२६ मा आयोजित एक समारोहमा गरिनेछ।

यो मिति सचिन तेन्दुलकरले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको १३ वर्ष पूरा भएको अवसर पनि हो। उनले १६ नोभेम्बर, २०१३ मा आफ्नो घरेलु मैदान वानखेडे स्टेडियममा वेस्ट इन्डिजविरुद्ध आफ्नो २००औँ टेस्ट खेल खेलेपछि अन्तरराष्ट्रिय क्रिकेटबाट बिदा लिएका थिए।

यस अवसरमा सङ्ग्रहालयमा पहिलोपटक आफ्नो किसिमको विशेष प्रदर्शनी ‘ब्याटोग्राफी’ शुरु गरिनेछ। यसमा तेन्दुलकरको करियरका २६ वटा ब्याटका साथै उनीसँग सम्बन्धित विभिन्न महत्वपूर्ण स्मरणीय सामग्रीहरू प्रदर्शन गरिनेछन्। ‘ब्याटोग्राफी’ नाम जीवनीको अवधारणाबाट प्रेरित छ। यसका माध्यमबाट मास्टर ब्लास्टरको क्रिकेट यात्रालाई उनका ती ब्याटहरूको कथामार्फत प्रस्तुत गरिनेछ, जुन उनका करियरका ऐतिहासिक तथा अविस्मरणीय क्षणका साक्षी रहेका छन्। प्रत्येक ब्याटले उनको उत्कृष्ट करियरको एउटा विशेष अध्यायलाई दर्शाउनेछ। यसले क्रिकेटप्रेमीहरूलाई उनका कीर्तिमान र उपलब्धिहरू पछाडिका कथाहरू नजिकबाट जान्ने अवसर प्रदान गर्नेछ।

यस पहलका सम्बन्धमा मुम्बई क्रिकेट सङ्घका अध्यक्ष अजिंक्य नाइकले भने, “सचिन तेन्दुलकरको भारतीय तथा विश्व क्रिकेटमा योगदान उनले बनाएका कीर्तिमानहरूभन्दा धेरै माथि छ। उनको यात्रा करोडौँ क्रिकेट प्रशंसकहरूको स्मृतिमा बसेको छ र यी ब्याटहरू त्यस यात्राका सबैभन्दा व्यक्तिगत धरोहरहरूमध्येका हुन्। ‘ब्याटोग्राफी’ मार्फत हामी एमसीए सङ्ग्रहालयमा एउटा अनुपम आयाम थप्दैछौँ। यसबाट आगन्तुकहरूले ती उपलब्धिहरू पछाडिका कथाहरू, ती उपलब्धि हासिल गर्न प्रयोग गरिएका साधनहरूमार्फत अनुभव गर्न सक्नेछन्। आफ्ना यी अमूल्य धरोहरहरू एमसीएसँग साझा गर्ने निर्णय गरेकोमा हामी सचिनप्रति आभारी छौँ। यसबाट यो असाधारण विरासत आगामी पुस्ताका क्रिकेटप्रेमीहरूका लागि पनि उपलब्ध रहनेछ।”

ब्याटका अतिरिक्त सचिनको करियरका महत्वपूर्ण अवसर तथा उपलब्धिहरूसँग सम्बन्धित अन्य धेरै स्मरणीय सामग्रीहरू पनि प्रदर्शनीको हिस्सा हुनेछन्। यसमा हेलमेट, जर्सी, नोट्सलगायत अन्य सङ्ग्रहणीय सामग्रीहरू समावेश छन्। यसका लागि सङ्ग्रहालयमा एउटा विशेष स्थान तयार गरिएको छ, जुन तेन्दुलकरको असाधारण क्रिकेट यात्राप्रति समर्पित हुनेछ। यस प्रदर्शनीमार्फत प्रशंसकहरूले उनको करियरका ऐतिहासिक क्षण, उपलब्धि तथा सम्झनाहरूलाई पुनः नजिकबाट हेर्न सक्नेछन्।


 rajesh pande