
गान्तोक, 13 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले बाल दिवसको अवसरमा राज्यका सम्पूर्ण बालबालिकालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
लोकभवनबाट जारी आफ्नो सन्देशमा राज्यपालले बालबालिका देशको भविष्य तथा समाजका सबैभन्दा अमूल्य सम्पत्ति रहेको बताएका छन्। उनले उनीहरूको जिज्ञासा, कल्पनाशीलता र सिर्जनात्मकताले नै सशक्त, समृद्ध तथा आत्मनिर्भर राष्ट्रको जग निर्माण गर्ने उल्लेख गरेका छन्।
उनले ‘विकसित भारत @२०४७’ को सङ्कल्प साकार पार्न वर्तमान पुस्ताका बालबालिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताएका छन्। देशले स्वतन्त्रताको १०० वर्ष पूरा गर्दा आजका बालबालिकाले युवा शक्तिका रूपमा राष्ट्रको नेतृत्व तथा नवनिर्माणको जिम्मेवारी सम्हाल्ने उनले बताए।
राज्यपालले भविष्यका चुनौतीहरूको आत्मविश्वासका साथ सामना गर्न तथा विश्वमञ्चमा भारतको गौरव बढाउन बालबालिकालाई गुणस्तरीय एवं आधुनिक शिक्षा, नवप्रवर्तन र सीप विकासका पर्याप्त अवसर उपलब्ध गराउनु आवश्यक रहेको बताएका छन्।यसैगरी, सिक्किमका बालबालिकाले शिक्षा, खेलकुद, कला, संस्कृति तथा पर्यावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा र उपलब्धिमार्फत राज्यको गौरव बढाइरहेकोमा उनले प्रसन्नता व्यक्त गरेका छन्।अन्त्यमा राज्यपालले राज्यका सम्पूर्ण बालबालिकाको सुस्वास्थ्य, सुख, सुरक्षा र ऊर्जावान जीवनको कामना गर्दै उनीहरूले आफ्ना सपना तथा लक्ष्यहरू साकार पार्दै सिक्किम र राष्ट्रको प्रगति एवं विकासमा अमूल्य योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल