चीन भ्रमणमा जाँदै नेपालका २० सांसद, नोभेम्बर १५ देखि शुरु हुनेछ ११ दिने भ्रमण
राष्ट्रीय स्वतंत्र पार्टी आरएसपी का मुख्यालय


काठमाडौँ, १३ नोभेम्बर (हि.स.)। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। पार्टीका महासचिव विपिनकुमार आचार्यको नेतृत्वमा उक्त प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको हो। नेपाली सांसदहरूको ११ दिने भ्रमण आइतबार (नोभेम्बर १५) देखि शुरु हुनेछ।

प्रतिनिधिमण्डलमा पार्टीका संयुक्त महासचिव हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कबीन्द्र बुर्लाकोटीसहित सांसदहरू लीमा अधिकारी, समीक्षा बास्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रीमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजाला शमीम मिक्रानी, पूनम अग्रवाल, रत्न थापा, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

चीन भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले बेइजिङ, हाङ्झाउ र सिचुआनलगायत चीनका विभिन्न सहरहरूको भ्रमण गर्नेछ।

प्रतिनिधिमण्डलका सदस्य तथा पार्टीको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा नवउद्यम विभागका प्रमुख आनन्द चन्दले यस भ्रमणका क्रममा चीनको नवप्रवर्तन तथा प्राविधिक प्रगतिको अध्ययन गर्ने इच्छा व्यक्त गरेका छन्। उनले विशेषगरी कृत्रिम बौद्धिकता (एआई), यन्त्र सिकाई, डिजिटल प्रविधि, नवप्रवर्तन र औद्योगिक विकासका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिबारे जानकारी लिन चाहेको बताए। साथै, यी क्षेत्रमा चीनले अपनाएका नीति तथा विकास गरेका संस्थागत व्यवस्थाहरूको समेत अध्ययन गर्ने उनको भनाइ छ।

प्रतिनिधिमण्डलका अर्का सदस्य डा. धनञ्जय रेग्मीले यस भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा घनिष्ठ सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


 rajesh pande