यूएईमा भीषण सडक दुर्घटना, १४ जनाको मृत्यु, मृतकमा भारतीय मूलका जुम्ल्याहा दाजुबहिनी र तीन वर्षीय बालक पनि
फुजैराह अमीरात में हुए इस हादसे में भारतीय मूल के मिसना जुबिन सिद्दीकी, मोहम्मद अस्मिल सिद्दीकी (बाएं से दाएं) और (नीचे) मोहम्मद फैज की भी जान चली गई है । फोटो -   गल्फ न्यूज


अबुधाबी/दुबई, १३ नोभेम्बर (हि.स.)। संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह अमिरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले बिहीबार यसबारे जानकारी दिएको हो। दुर्घटनामा १८ वटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए। त्यसपछि केही सवारीसाधनमा आगलागी भएको थियो। दुर्घटनामा परेका सवारीसाधनमध्ये पाँचवटा ट्रक रहेका थिए।

मृत्यु हुनेमा कारमा सवार भारतीय मूलका २१ वर्षीय जुम्ल्याहा दाजुबहिनी मोहम्मद अस्मिल सिद्दिकी र मिसना जुबिन सिद्दिकी तथा उनीहरूका तीन वर्षीय भतिजा मोहम्मद फैज पनि रहेका छन्।

गल्फ न्युज र अरब न्युजका समाचारअनुसार, फुजैराह पुलिसले बुधबार मध्यरात हुनुभन्दा केही समयअघि फुजैराह अमिरातको प्रवेशद्वार नजिकै शेख खलिफा बिन जायद सडकमा एउटा ट्रक चालकले आफ्नो सवारीसाधनमाथिको नियन्त्रण गुमाएको जनाएको छ। पुलिसका अनुसार, उक्त ट्रकले अर्को सवारीसाधनलाई ठक्कर दिएपछि पल्टिएको थियो। त्यसपछि कम गतिमा चलिरहेको यातायातका कारण रोकिएका अन्य सवारीसाधनसँग ठोक्किएको थियो। ट्रकमा लागेको आगो क्षतिग्रस्त अन्य सवारीसाधनमा समेत फैलियो।

फुजैराह पुलिसले दुर्घटनामा घाइते तथा आगोले जलेका व्यक्तिमध्ये १५ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाएको छ। अन्य १५ जनाको उपचार भइरहेको छ। मृतकहरूमा यूएईका नागरिकसमेत रहेका छन्।

शोकाकुल भारतीय परिवार मूलतः केरलाको बासिन्दा हो। परिवारले तीनै जनाको अन्त्येष्टि यूएईमै गर्ने निर्णय गरेको छ। परिवारका सदस्य जमल सिद्दिकीले शुक्रबारको नमाजपछि फुजैराहस्थित एक मस्जिदमा तीनै जनाको अन्त्येष्टि गरिने जानकारी दिएका छन्।

दिवङ्गत जुम्ल्याहा दाजुबहिनीका दाजु अजमल सिद्दिकीले अस्मिल र मिसना हालै केरलाबाट संयुक्त अरब इमिरेट्स फर्किएको बताएका छन्। यसपटक अस्मिल आफ्नी पत्नी आरिफा र छोरी फरजानालाई पनि साथमा लिएर आएका थिए। फरजाना गृहिणी हुन्।

जुम्ल्याहा दाजुबहिनी केरलामै जन्मिएका र हुर्किएका थिए। उनीहरूले त्यहीँ कक्षा १० सम्म अध्ययन गरेका थिए। त्यसपछि फुजैराह आएर कक्षा ११ र १२ को पढाइ पूरा गरेका थिए। उनीहरू दूरशिक्षामार्फत कम्प्युटर एप्लिकेसनमा स्नातक (बीसीए) को अनलाइन अध्ययन गरिरहेका थिए।

अजमलका अनुसार, बुधबार राति अस्मिल परिवारका केही सदस्यसँग एक आफन्तलाई छोड्न शारजाह गएका थिए। त्यहाँबाट फर्किने क्रममा राति करिब ११ बजे फुजैराह अदालत भवन नजिकै उनीहरूको कार एउटा ट्रकसँग ठोक्किएको थियो।

केरलामा रहेका सिद्दिकीका भाइकी पत्नी मुमताजले यस घटनाको खबरले परिवार पूर्ण रूपमा स्तब्ध भएको बताएकी छन्। जुम्ल्याहा दाजुबहिनीका पिता कैयौँ दशकदेखि यूएईमा बस्दै आएका छन् र फुजैराहमा परिचित व्यक्तिका रूपमा रहेका छन्। उनी त्यहाँ ‘इभा क्याफेटेरिया’ सञ्चालन गर्छन्।

केरलाको मलप्पुरम जिल्लास्थित कुन्नुमपुरमको ‘अल जजीरा आर्ट्स एन्ड स्पोर्ट्स क्लब’ ले सामाजिक सञ्जालमार्फत अस्मिलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

यसैबीच, दुबईस्थित भारतीय वाणिज्य दूतावासले बिहीबार दिउँसो आफ्ना अधिकारीहरू पीडित परिवारको सम्पर्कमा रहेको जनाएको छ। स्थानीय अधिकारीहरूसँग समन्वय गरेर काम भइरहेको र पीडित परिवारलाई हरसम्भव सहयोग गरिने दूतावासले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande