
कोकराझार (असम), १४ नोभेम्बर (हि.स.)। लोकआस्थाको महापर्व छठ पूजाको दोस्रो दिन आज शनिबार श्रद्धा र भक्तिभावका साथ खरना पर्व मनाइँदैछ। खरना पर्वसँगै चारदिने छठ महापर्वको धार्मिक अनुष्ठान अझ कठिन हुने गर्दछ।
खरनाका अवसरमा व्रतालुहरूले दिनभरि निर्जला उपवास बस्ने गर्छन्। साँझ स्नान गरी स्वच्छ वस्त्र धारण गरेपछि घरमा विधिपूर्वक खरना पूजा गरिन्छ। यस क्रममा भगवान् सूर्य र छठी माताको आराधना गर्दै गुडबाट बनाइएको खीर तथा रोटी प्रसादका रूपमा तयार गरिन्छ। पूजाआजा सम्पन्न गरेपछि व्रतालुहरूले भगवान्लाई प्रसाद अर्पण गरी प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारका सदस्य तथा श्रद्धालुहरूबीच प्रसाद वितरण गरिन्छ।
खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरूले करिब ३६ घण्टासम्मको कठिन निर्जला व्रत बस्ने सङ्कल्प लिन्छन्। यसपछि तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ भने चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ महापर्वको समापन हुनेछ।
छठ महापर्वका अवसरमा घर तथा पूजाघाटहरूमा भक्तिमय वातावरण बनेको छ। लोकआस्था, पवित्रता, अनुशासन र पारिवारिक एकताको प्रतीकका रूपमा रहेको यस पर्वले समाजमा श्रद्धा र समर्पणको विशेष सन्देश दिने गर्दछ।
हिन्दुस्थान समाचार / बिशाल