अरुणाचलः होलोंगी क्षेत्रमा दैखियो बाघ
अरुणाचलः होलोंगी क्षेत्रमा दैखियो बाघ


इटानगर, १४ नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशको पापुम पारे जिल्लाअन्तर्गत होलोंगी क्षेत्रमा बाघ देखिएको खबरपछि बन्दरदेवा वन प्रभागले होलोंगी-कोकिला सडक, होलोंगी-इटानगर राष्ट्रिय राजमार्ग ४१५ तथा दोनी पोलो ग्रीन विमानस्थल (होलोंगी) र बालीजान आसपासका क्षेत्रमा सबै प्रकारका दुईपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ।

मानिसहरूको सुरक्षा सुनिश्चित गर्न तथा कुनै अप्रिय घटना हुन नदिन सावधानीस्वरूप उक्त प्रतिबन्ध लगाइएको हो।

आज बन्दरदेवाका प्रभागीय वन अधिकारी बिरी तारङको मार्गदर्शनमा वन विभागका कर्मचारी तथा हुटो र होलोंगी पञ्चायतका युवाहरूले ‘गाउँबुढा नाबम न्यिकी के नाला’ क्षेत्रमा स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा त्यहाँ बाघको पाइला भेटिएपछि उक्त क्षेत्रमा बाघको उपस्थिति पुष्टि भएको छ।

निरीक्षणपछि बिरी तारङले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अपिल गरेका छन्। उनले स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई विशेषगरी बिहान सबेरै र राति अबेर जंगलको किनारतर्फ अनावश्यक रूपमा नजान सुझाव दिएका छन्। साथै, बालबालिकाहरूलाई घरभित्रै राख्न, बाघलाई पछ्याउने वा उत्तेजित पार्ने काम नगर्न तथा बाघ देखिएमा तत्काल वन विभाग वा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन्।

उनले हालसम्म उक्त क्षेत्रमा कुनै पनि जनावर (मिथुन, गाई आदि) मारिएको खबर प्राप्त नभएको पनि जानकारी दिएका छन्। साथै, बाघलाई उत्तेजित पार्ने कुनै पनि प्रयास नगर्न उनले पुनः आग्रह गरेका छन्।

यसैबीच, बन्दरदेवा वन प्रभागका प्रभागीय वन अधिकारीद्वारा जारी गरिएको सूचनामा सर्वसाधारणलाई सुरक्षा निर्देशिकाको कडाइका साथ पालना गर्न तथा मानव र वन्यजन्तुको सुरक्षा सुनिश्चित गर्न प्रशासनलाई सहयोग गर्न अपिल गरिएको छ।

स्थानीय बासिन्दा तथा होलोंगी र हुटो पञ्चायतका युवाहरूले गरेको गुनासोका आधारमा वन विभागले उक्त सुरक्षा सूचना जारी गरेको हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande