
गान्तोक, 14 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको नाम्ची जिल्लास्थित कृषि विभागले राष्ट्रिय खाद्यतेल अभियान-तेलहन योजनाअन्तर्गत आर्थिक वर्ष २०२६-२७ का लागि तोरी खेतीसम्बन्धी दुईदिने तालिम तथा कृषि सामग्री वितरण कार्यक्रम आयोजना गरेको छ। नाम्ची जिल्लाको पोकलोक ग्राम पञ्चायत एकाइअन्तर्गत समतारमा आयोजित कार्यक्रममा स्थानीय वार्ड पञ्चायत सदस्य अनुराधा सुनुवार प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
कृषि सेवक तथा स्रोत व्यक्ति डा. दीपिका गढायलीले तोरी खेतीको महत्त्व र यसको वैज्ञानिक खेती प्रणालीबारे प्राविधिक जानकारी प्रदान गरिन्। उनले तोरी बालीमा लाग्ने प्रमुख रोग तथा कीराहरूको पहिचान र नियन्त्रणका उपायबारे जानकारी दिँदै दिगो उत्पादनका लागि उन्नत कृषि प्रविधि अपनाउनुपर्नेमा जोड दिइन्।
बागवानी विकास अधिकारी बीके राईले तोरी खेतीमा उचित सिँचाइ तथा जल व्यवस्थापनको महत्त्वबारे जानकारी गराए। उनले बागवानी विभागका विभिन्न योजनाहरू तथा तिनबाट प्राप्त हुने लाभबारे पनि किसानहरूलाई सचेत गराए।
कार्यक्रमको दोस्रो दिन छनोट गरिएका लाभार्थी किसानहरूलाई तोरी खेती प्रवर्द्धन गर्ने उद्देश्यले तोरीको बीउ, जैविक कीटनाशक तथा प्राङ्गारिक मल वितरण गरियो।
कार्यक्रमको मुख्य उद्देश्य वैज्ञानिक तोरी खेतीबारे जनचेतना अभिवृद्धि गर्नु, तेलहन उत्पादनलाई प्रोत्साहन गर्नु, दिगो कृषि अभ्यासलाई प्रवर्द्धन गर्नु तथा बाली विविधीकरण र राष्ट्रिय खाद्यतेल अभियान-तेलहन योजनाको प्रभावकारी कार्यान्वयनमार्फत किसानहरूको आम्दानी वृद्धि गर्नु रहेको थियो।कृषि विभाग, नाम्ची जिल्लाले कृषि क्षेत्रको समग्र विकासका लागि प्राविधिक मार्गदर्शन, गुणस्तरीय कृषि सामग्री तथा विभिन्न सरकारी योजनाहरूमार्फत किसानहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल